फाइल तस्वीर
काठमाडौं- नागरिकता विधेयकमा रहेको विवादमा राष्ट्रिय सहमति जुटाउनका लागि सरकारलाई आइतबारसम्मको समय दिइएको छ। सरकारले थप छलफलका लागि समय माग गरेपछि बैठक दोस्रो पटक सरेको हो। मंगलबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केही दिनको समय माग गरेको थियो।
केही समययता अङ्गिकृतलाई नागरिकता दिन समय तोक्ने वा नतोक्ने विषयमा विवाद हुँदै आएको छ। सत्तापक्ष नेकपा केही वर्ष अवधी राख्नुपर्ने पक्षमा देखिएको छ भने प्रतिपक्ष नेपाली कांग्रेस यस्तो अवधि तोक्न नहुने पक्षमा रहेको छ। अन्तरिम संविधान २०६३मा अवधी तोकिएको थिएन। तर नयाँ संविधानमा नागरिकतासम्बन्धी विस्तृत व्यवस्था संघीय कानुन बमोजिम हुने भनिएको थियो।
संविधानको सोही व्यवस्थाअनुसार गृहमन्त्रालयले विधेयक मस्यौदा गरेर संसदमा पेश गरेको थियो। प्रतिनिधि सभामा पेश भएको उक्त विधेयकमाथि राज्य व्यवस्था समितिमा लामो समयदेखि छलफलमात्र चलिरहेको छ। नागरिकता विधेयक पेचिलो हुँदै गएपछि केही समयअघि उक्त विधेयकमाथिको छलफल समितिमा रोकिएको थियो।
कोरोना महामारीपछि बजेट अधिवेशन शुरु भएकाले समितिले यसमाथिको छलफल अघि बढाएको थियो। मंगलबारको बैठकमा सभापति शशि श्रेष्ठले अङ्गिकृतले नेपाली नागरिकता पाउन सात वर्षको प्रावधान अघि सारेकी थिइन्। मध्यमार्गी प्रस्तावको रुपमा त्यसलाई अघि सारेपनि त्यसमा कांग्रेसले समय माग गरेको थियो। बुधबार भोटिङ मार्फत भएपछि टुङ्गाउने तयारीमा रहेको अवस्थामा गृहमन्त्री रामबहादुर थापाले यो गम्भीर विषय भएकाले थप छलफलको समय माग गरेका थिए। उनको प्रस्तावपछि समितिले बिहीबार र शुक्रबारको समय सरकारलाई दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।