फाइल फोटो: राज्य व्यवस्था तथा सुशासन समिति
काठमाडौं- केही दफामा विवाद भएपछि दुई वर्षदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको नागरिकता विधेयकमा सहमतिको सम्भावना टरेको छ।
सत्तारुढ दलको सहमतिमा विवाह गरेर नेपाल आएकी विदेशीलाई महिलालाई ७ वर्षपछि अंगिकृत नागरिकता दिने प्रस्ताव समितिले गरेको थियो। तर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रस्तावमा असहमति जनाएको छ। नागरिकता ऐन २०६३ अनुसार नै यसपछि पनि नागरिकता दिइनुपर्ने निर्णय कांग्रेस पदाधिकारी बैठकले गरेको छ।
कांग्रेसका तर्फबाट समितिका सदस्य सांसदलाई नागरिकता ऐनमा यसअघिको रहेको व्यवस्थामा आफ्नो मत जाहेर गर्न निर्देशन दिइएको छ। यो निर्देशन सँगै सहमतिको सम्भावना टरेको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु समितिले ल्याएको प्रस्तावको पक्षमा उभिएका छन्।
नेपाली नागरिकता ऐन २०६३ मा विदेशी महिलाले विवाह लगत्तै नेपाली नागरिकता पाउने व्यवस्था गरिएको छ। तर, समितिको प्रस्तावमा विदेशबाट नेपाली नागरिकसँग विवाह गरेर आउने महिलाको हकमा ७ वर्षपछि अंगीकृत नागरिकता दिन सकिने प्रस्ताव गरेको छ। तर यसका लागि सात वर्षसम्मै नेपालमा निरन्तर स्थायी बसोबास गरेको हुनुपर्ने पनि उल्लेख छ।
नागरिकता प्राप्त नगरुञ्जेलसम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्राप्त गर्ने गरी स्थायी आवासीय अनुमति पत्र दिइने भनिएको छ। उक्त अनुमति पत्र ७ वर्षमा नागरिकता पाएपछि स्वतः खारेज हुने भनिएको छ।
समितिकी सभापति शशी श्रेष्ठ मंगलबार नै विधेयकको दफावार छलफल टुंग्याएर प्रतिनिधी सभामा पठाउने तयारीमा थिइन्। भोटिङबाट भएपनि टुंग्याउनुपर्नेमा उनी लागिपरेकी थिइन्। तर कांग्रेससले एकदिनको समयमा मागेको थियो। बुधबार सहमति नजुटेपछि मतदान हुने सम्भावना बढेर गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।