काठमाडौं– बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन लिग बुन्डेस लिगाको उपाधि जितेको छ।
मंगलबार राति आफ्नो ३२औं खेलमा जित हात पार्दै दुई खेलअघि नै बायर्नले लगातार आठौं पटक लिगको उपाधि जितेको हो। उपाधि जित्ने क्रममा बायर्नले भेर्डाओ ब्रेमेनलाई १–० गोलले हराएको हो।
खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता बनाएको बायर्न दोस्रो हाफमा भने १० खेलाडीमा सीमित भएको थियो। खेलको ७९औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै डेविस मैदानबाट बाहिरिएका थिए।
लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता बनाएसँगै बायर्नले उपाधि जितेको हो। डर्टमण्डले तीन खेल अझै खेल्न बाँकी छ।
लिगको उपाधि जितेको बायर्नको ३२ खेलबाट ७६ अंक छ। दोस्रो स्थानमा रहेको डर्टमण्डको ६६ अंक छ।
सन् २०१३ देखि लगातार उल्लेख्य दर्शकको सामु लिगको उपाधि चुम्दै आएको बायर्नको लागि यो पटक भने नौलो भएको छ। रंगशालामा बिना दर्शक नै लिगको उपाधि आफ्नो पोल्टामा पार्न बायर्न सफल भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।