काठमाडौं– राष्ट्रिय फुटबल टिमले अर्को महिनाबाट विश्वकपको दोस्रो चरणका खेलहरुका लागि अभ्यास थाल्ने भएको छ।
मंगलबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आपतकालीन बैठकले विश्वकपअन्तर्गत दोस्रो चरणका बाँकी खेलहरुका लागि राष्ट्रिय फुटबल टिमलाई अर्को महिनाबाट प्रशिक्षणमा राख्ने निर्णय गरेको हो।
आगामी अक्टोबरदेखि नेपालमा विश्वकपअन्तर्गत दोस्रो चरणका खेलहरु हुनेछ। नेपालले आफ्नो होम खेलमध्ये अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनसँग खेल्न बाँकी छ।
विश्वकपको दोस्रो चरणका खेलहरुमा राम्रो नतिजा ल्याउन जुलाईदेखि नै अभ्यास थाल्ने एन्फाले तयारी गरेको हो। त्यसका लागि एसियन फुटबल फेडेरेशनको निर्देशनअनुसार राष्ट्रिय खेलकुद परिषद्, स्वास्थ्य मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत लिने प्रक्रिया अगाडि बढाउने बताएको छ।
त्यस्तै, राष्ट्रिय महिला तथा पुरुष टिमका ३५–३५ जना खेलाडी गरी कूल ७० खेलाडीको कोरोना बिमा गर्ने निर्णय पनि एन्फा कार्यसमितिले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।