काठमाडौं- भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि अहिले भारतीय फिल्म नगरी बलिउडमा परिवारवादको विषय बहसमा छ। प्रतिभाभन्दा पनि नाता सम्बन्धका आधारमा मात्र काम दिँदा वास्तविक कलाकार छायाँमा पर्ने र मानसिक तनावमा परेर दुःखद निर्णय गर्न बाध्य हुने भन्दै भारतीय कलाकारहरु आलोचनामा उत्रिएका बेला यता नेपालमा पनि अभिनेत्री वर्षा सिवाकोटीले नातावादको विषय उठाएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा नातावाद सबैतिर हुने तर नेपाली फिल्म क्षेत्रमा भने छर्लङ्ग भएको लेखेकी छन्। उनले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ, कामको अभाव हुन सक्छ भनेर बोल्ने आँट कमैले गर्ने लेखेकी छिन्।
'गत वर्ष यो विषयमा फेसबुक स्टाटसमार्फत मैले नि हल्का कुरा उठाएकी थिएँ। त्यसपछि यसबारेमा कोही बोलेको सुनिएन,देखिएन पनि। हालै घटित बलिउड घटनाले यहाँ पनि यो विषयमा चासो बढेको देखें... केहीले आवाज नि उठाउनु भयो, जुन कुरामा म पनि सहमत छु' उनले लेखेकी छन्। नातावादसँगै नेपाली चलचित्र क्षेत्रमा रहेको ग्रुपिज्म, लभ अफेयर्स तुलना गर्ने अनि रिपोर्टर‚ यूट्युबर र कलाकारबीचको अनावश्यक बाउन्डिङले पनि नकारात्मक असर पारेको लेखेकी छन्।
उनले आफू पनि यसको पीडित भएको र नामका कारण पाइलै पिच्छे तुलना हुँदा आफूले जति नै राम्रो, फरक काम गरे पनि प्रश्न उठाउने गरिएको र यसले कति ठाउँमा मानसिक पीडा समेत भएको लेखेकी छन्।
'तपाईं कुनै काम गर्नुहुन्छ भने पूर्ण मिहिनेत, विश्वास र समर्पणका साथ गर्नुस्, जहाँ कुनै वादले छुन पनि नसकोस्। तपाईं प्रतिभासम्पन्न, लगनशील र आत्मविश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईंको मिहीनेतले कदर पाउनेछ। हत्केलाले सूर्यलाई छेकेर छेकिन्छ र?' उनको निष्कर्ष छ।
'सरी बट आइएम नट सरी'
अर्की अभिनेत्री नम्रता सापकोटाले फेसबुकमा 'सरी बट आइएम नट सरी' भन्दै नातावादको विपक्षमा भिडियो सन्देश नै राखेकी छिन्। उनले सुशान्तको आत्महत्यापछि नेपालमा पनि सामाजिक सञ्जालमा तपाईंलाई केही लागेको छ भने सेयर गर्नुस् भन्दै राखिएको सन्देशमा असहति जनाउँदै सामाजिक सञ्जालमा कसैका लागि म छु भन्नुभन्दा आफूनिकट साथीलाई फोन गरेर के छ भनेर सोध्न आग्रह गरेकी छन्।
नेपालमा पनि कलालाई भन्दा पनि आफ्नालाई मात्र सपोर्ट गर्ने गरिएको, कलाकार लिन भनेर विज्ञापन गर्ने गरेको तर अन्तिममा आफ्नै आफन्त लिने गरेको बताउँदै उनले जसको राम्रो लिङ्क छ उसको अभिनय शून्य नै भएपनि काम पाउने तर जसले संघर्ष गरेर आएको हुन्छ र क्षमता पनि छ उसले काम पाउने नगरेको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।