प्रतीकात्मक तस्बिर काठमाडौं- कोभिड-१९ महामारी रोकथामका लागि विश्वका अधिकांश मुलुकले अवलम्बन गरेको लकडाउनका कारण सवारी साधन चल्न छोडेपछि ओरालो लागेको पेट्रोलियम पदार्थको मूल्य सवारी साधन संचालनमा आउन थालेसँगै उकालो लाग्न शुरु भएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको माग बढेसँगै तेल कम्पनीहरूले मूल्य बढाउन थालेका हुन्। भारतमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो १० दिनयता निरन्तर उकालो लागिरहेको छ भने ८२ दिनको लकडाउन अवधिमा मंगलबार इन्धनको मूल्य उच्चतम बिन्दुमा पुगेको छ। मंगलबार भारतको राजधानी नयाँदिल्लीमा डिजेल प्रतिलिटर ७५ भारतीय रुपैयाँ र पेट्रोल ७७ भारतीय रुपैयाँमा बिक्री वितरण भईरहेको छ। त्यस्तै हवाई इन्धनको मंगलबार मात्र हवाई इन्धनको मूल्य १६ प्रतिशतले बढेको छ।
मंगलबार हवाई इन्धन प्रति किलोलिटर १६ दशमलव ३ प्रतिशत अर्थात् ५ हजार ४ सय ९४ भारतीय रुपैयाँले बढेर ३९ हजार ७० रुपैयाँ पुगेको छ। हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ ५० पैसा बढेको छ।
अन्तर्राष्ट्रिय बजार मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। जसअनुसार निगमले मंगबार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।