काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालका लागि बङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उर्जा क्षेत्रमा समझदारी गर्ने विषयमा छलफल भएको छ।
राजदूत साम्ससँगको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंङगलादेशसँग सहकार्य गर्न तयार रहेको धारणा राखे। मन्त्री पुनले ‘सार्क फ्रेमवर्क’भित्र रहेर काम गर्न नेपाल इच्छुक रहेको समेत बताएका थिए। उनले भेटमा उर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेको पुनका प्रेस संयोजक रोशन खड्काले बताए।
भेटमा राजदूत साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बङ्गलादेश तयार रहेको भन्दै त्यसका लागी नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताइन्। ‘सरकार मात्र होइन। हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्यूतमा लगानी गर्न तयार छ, तर तपाईंहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ।’, भेटमा राजदूत साम्सले पुनलाई प्रस्ताव गरिन्।।
जवाफमा मन्त्री पुनले ठुला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी बङ्गलादेशी उर्जा मन्त्रीको नेपाल भ्रमणका बारेमा टुंगो लगाउने गरी अघि बढ्ने प्रस्ताव राखेका छन्।
साम्सले बङ्गलादेश नेपालको जलविद्युत्त क्षेत्रमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागि बङ्गलादेशी उर्जा मन्त्री नेपाल भ्रमणमा आउन इच्छुक रहेको समेत जानकारी गराइन्।
जवाफमा मन्त्री पुनले बङ्गलादेशी उर्जा मन्त्रीलाई छिटोभन्दा छिटो नेपालमा स्वागत गर्न आफू तयार रहेको बताए।
बङ्गलादेशी राजदूतले सन् २०२१ सम्म बङ्गलादेशलाई १३ हजार मेगावाट बिजुली आवश्यक रहेको भन्दै नेपालको लागि बङ्गलादेश वैकल्पिक बजार हुन सक्ने बताइन्। उनले पावर सेक्टरमा नेपाल, भारत र बङ्गलादेशको बीचमा सहकार्य हुनुपर्नेमा जोड दिइन्।
‘उर्जा क्षेत्रमा तपाईंहरु सहकार्य गर्न तयार हुनुभयो भने हामी भारतलाई पनि सहयोगका लागि आग्रह गर्छौं। हाम्रो देशको प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारतले सहयोग गर्ने भन्ने सहमती भएको छ।’ राजदूत साम्सले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।