काठमाडौं– एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ। एकताका लागि मिल्न नसकेका विवादका विषयहरु टुंगो लगाउन बैठक बस्न लागेको हो।
एमाले–माओवादी एकता वैशाख ९ का लागि यसअघि चर्चा गरिएपनि उक्त मितिमै हुने प्रति माओवादी नेताहरुले नै शंका गर्न थालेका छन्।
जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न नसकेका कारण लामो समयदेखि एकता प्रक्रिया रोकिएको छ। सोमबार दुई पार्टीका अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवासमा हुन लागेको बैठकले वैशाख ९ मा पार्टी एकता घोषणा हुने वा नहुने विषयमा निश्कर्ष निकाल्ने छ।
केही समयदेखिको संवादहीनताको बीचमा एकता संयोजन समितिको बैठक हुन लागेकाले आजको बैठकलाई चासोका साथ हेरिएको छ। बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ।
एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।