काठमाडौं- इंग्लिस क्लब टोटनह्यामका मिडफिल्डर डेल अलीलाई फुटबल एशोसियसनले एक खेलको प्रतिबन्ध लगाएको छ। उनले सामाजिक सञ्जालमा कोरोना भाइरस (कोभिड १९) बारे गरेको पोस्टलाई लिएर कारबाही गरिएको बताइएको छ।
गएको फेब्रुअरीमा २४ वर्षका अलीले कोरोना भाइरस संकटबारे एसियाका मान्छेको मजाक उडाउने शैलीमा रहेको भिडियो जोक सामाजिक सञ्जाल स्न्यापच्याटमा पोस्ट गरेका थिए। त्यसैका आधारमा उनीमाथि कारबाही गरिएको हो।
एक खेलको प्रतिबन्धसहित उनलाई ५० हजार पाउण्ड जरिवाना पनि गरिएको छ। साथै एक शैक्षिक कोर्स लिन समेत भनिएको छ। कारबाहीका कारण उनले जुन १९ मा टोटनह्यामको म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने छन्।
अलीले स्न्यापच्याटमा पोस्ट गरेको भिडियोमा उनी मास्क लगाएर एअरपोर्टमा बसिरहेका बेला एसियाका एक मानिस उनको अघि पुगेको र तत्कालै उनले ह्यान्डवासको बोतल लिएको देखाइएको थियो।
अलीसँग त्यस विषयमा लिइएको स्पटीकरणमा उनले आफूले गल्ती गरेको तत्कालै महसुस गरेर भिडियो डिलिट गरिहालेको बताएका छन्। डिलिट गरिसकेको भिडियो कोही साथीले नै सञ्चार माध्यममा दिनाले आफू फसेको उनको भनाइ छ।
‘मेरो व्यवहारका कारण कसैमाथि भएको अपमानलाई लिएर माफी माग्दछु। त्यो असाध्यै नराम्रोसँग सोचिएको जोक थियो, भाइरस बारेको त्यस्तो जोक जसले अहिले हामी सबैलाई नराम्ररी प्रभावित पारेको छ’, अलीले भनेका छन्, ‘मैले त्यसमा रंगभेद गरेको होइन, म सबै खाले विभेदको विरुद्धमा सधैँ छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।