काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को महामारीपछि सुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले रियल बेटिसलाई २-० ले हराएको छ। खेलको ५६औँ मिनेटमा वकाम्पसले पेनाल्टीमार्फत अग्रता दिलाएको सेभियाका लागि ६२औँ मिनेटमा रेगेसले दोस्रो गोल गरे।
जर्मन बुन्डेस लिगापछि युरोपका ठूला लिग फुटबलमा दोस्रोमा ला लिगा नै सुरु भएको हो। स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बन्द रंगशालामा खेल भए पनि रंगशालाबाहिर समर्थकहरु जम्मा भइदिनाले समस्या परेको थियो।
खेल सुरु हुनुअघि कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाएकाको सम्झना गर्दै श्रद्धाञ्जली गरिएको थियो। बन्द रंगशालाको खेल भए पनि दर्शक बस्ने ठाउँमा कृत्रिम हुटिङको आवाज भने जडान गरिएको थियो। त्यसका साथै क्लबका समर्थकहरु झल्कने शैलीमा सिटहरु सिंगारिएका देखिन्थे।
मैदानको अवस्था ‘क्यामरा एंगल’अनुसार परिवर्तन भइरहेका थिए। ठूलो क्षेत्रमा देखाउँदा दर्शक बसेको जस्तो देखिए पनि नजिकबाट देखाउँदा त्यस्तो थिएन। गर्मीका कारण खेलमा मध्यान्तर अघि नै एक समय विश्राम गरिएको थियो, जतिबेला रंगशालामा ‘सुरक्षित खेल, सुरक्षित पर्यटन, स्पेन तपाइँलाई स्वागत गर्दछ’ लेखिएको देखिन्थ्यो।
जितसँगै सेभिया लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। सेभियाको २८ खेलमा ५० अंक छ। शीर्षमा रहेको बार्सिलोनाको २७ खेलमा ५८ अंक साथै दोस्रोमा रहेको रियल मड्रिडको २७ खेलमा ५६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।