काठमाडौं- युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा पछिल्लो समय भइरहेको छलफलअनुसार च्याम्पियन्स लिगका अन्तिम आठ खेल पोर्चुगलको लिस्बोनमा हुने गरी तयारी भइरहेको छ।
मे ३० मा इस्तानबुलमा हुने भनिएको फाइनल कोरोना भाइरस (कोभिड १९) का कारण प्रभावित भएकाले अहिले खेलको नयाँ तालिका बनिरहेको हो। यस्तै पोल्याण्डमा २७ मे मा हुने युरोपा लिगको फाइनल पनि सरेको छ। जुन जर्मनीमा गर्ने गरी तयारी भइरहेको छ। युरोपियन प्रतिस्पर्धाका खेलहरु मार्चदेखि रोकिएका हुन्।
च्याम्पियन्स लिगका खेलहरु पहिले जस्तै दुई लेगमा गर्ने या नकआउट बनाउने भन्नेबारे पनि कुराकानी भइरहेको छ। नकआउट गर्ने साथै क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल एउटै रंगशालामा गर्ने गरी पनि कुराकानी भइरहेको छ।
नयाँ तालिकाअनुसार च्याम्पियन्स लिग फाइनल खेल अगस्ट २३ मा र युरोपा लिग फाइनल खेल अगस्ट २१ मा हुने तय छ।
च्याम्पियन्स लिग खेल गराउने सम्भावित देशहरुमा स्पेन, जर्मनी र रसियाको नाम आइरहेको भए पनि विशेष रुपमा पोर्चुगलको लिस्बोनलाई नै हेरिएको बताइएको छ। लिस्बोनमा रहेका दुई रंगशाला ठूला खेलहरु आयोजना गर्न सक्षम रहेको बताइएको छ। जहाँ ठूला टिमहरुलाई बस्नेलगायतका अन्य सुविधा पनि पर्याप्त रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।