काठमाडौं- संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरुमा राष्ट्रिय हित र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
‘सांसद गिरीको यस खालको असंवैधानिक, राष्ट्रहित प्रतिकूल हुने एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्ट्रहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपाल घोर आपत्ति र भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
संघले गिरीलाई संसद सदस्यबाट अविलम्ब फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई आग्रह पनि गरेको छ। ‘यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
उसले गिरीका विरुद्धमा संघीय संसद सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानुनी कारबाही अघि नबढाए यो विषयलाई आफ्नो संगठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा भनिएको छ। ‘त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।