फाइल तस्बिर
काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले अन्तराष्ट्रिय स्तरमा ठाडो शिर लगाएर बोल्न सक्दैन भन्ने भाष्यलाई वर्तमान सरकारले बदलेको दाबी गरेका छन्। विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ज्ञवालीले सानो देश,अविकसित,भूपरिवेष्ठितलगायतका लघुताभाषले नेपाल बोल्नुहुँदैन भन्ने विगतको परम्परा तोडिएको बताए।
भूगोल, संख्याले देशहरु ठूला साना हुन सक्ने बताउँदै त्यसैको आधारमा सम्मानको आयाम मापन नहुने टिप्पणी गरेका मन्त्री ज्ञवालीले भने, ‘आफ्नो राष्ट्रको पक्षमा बोल्नु कसैको अहित गर्नु होइन। विगतले बोकाइदिएका असमनताका बोझहरु सरकारले हटाएको छ।’
विदेशी परनिर्भरतालाई कम गर्दै लैजाने सरकारको नीति रहेको दाबी गरेका ज्ञवालीले परराष्ट्र नीतिको लक्ष्य विश्वभर समधुर र फलदायी सम्बन्ध विस्तार गर्ने रहेको बताए। पारवहन सुविधालाई विविधिकरण गरिएको वर्तमान सरकारले गरेको दाबी गर्दै भने,‘भूपरिवेष्ठित देशलाई भू-जडित देशका रुपमा विकास गरिएको छ।’ भविष्यमा नाकाबन्दीको पिडा कहिल्यै भोग्न नपर्ने सुनिश्चित गरेका मन्त्री ज्ञवालीले नेपाल गतिशील राष्ट्रका रुपमा उजागार गरेको उल्लेख गर्दै छवि अझै उज्यालो बनाउने बताए।
कोभिड १९ ले दिगो विकास लक्ष्य प्रभावित हुने बताएका उनले कोभिडले निम्त्याएको संकट नेपाललाई थप पर्ने बताए। १०९ वटा देशमा नेपालीहरु रहेको जानकारी गराउँदै संकटमा परेकालाई उद्धार गर्ने वचन दिए। भारतबाट दुइ लाख ३६ हजार कोरोना संक्रमणपछि प्रवेश गरेको जानकारी गराए। चैतपछि भारतबाहेकका अन्य मुलुकबाट चार हजार ५०० नेपाल आएको सदनलाई जानकारी गराए। ४० लाख नेपाली बाहिर भएकाले उनीहरूको सुरक्षाका लागि समकक्षीलाई फोन सम्पर्क गरेको उनको भनाइ छ।
भारतबाट ठूलो संख्यामा आउँदा व्यवस्थापन गर्न कठिन भएको स्वीकारेका मन्त्री ज्ञवाली अन्य देशबाट आएका र भारतबाट आएकाहरुलाई फरक व्यवहार गर्ने सोंच सरकारको नहुने बताए। विदेशमा समस्यामा परेका नेपालको उद्धारका लागि बजेटको अभाव नहुने जानकारी गराए। श्रमिकका लागि कम बजेट विनियोजन गरेर कूटनीतिक निकायको भवनलाई बजेट बढी छुट्याएको प्रश्नमा उनले भने, ‘कोरोनाको समस्या अझै बढ्यो भने श्रमिकलाई उद्धार गर्न खर्च नगरेर भवनका लागि खर्च हुँदैन।’
नेपाल भारतबीच सीमाको समस्या भारतले सिर्जना गरेको उनको ठहर छ। सीमा क्षेत्रको नापजाँचमा भारतले अवरोध गरेको समेत बताए। कालापानी क्षेत्रको जग्गा नापजाँच गर्न सन् २००५ मा गएको नेपाली टोलीलाई भारतले फिर्ता गरिदिएको बताए। सीमा विवाद अन्त्य गर्नका लागि गठित कार्यदलको बैठक भारतकै कारण एकपटक पनि बस्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।