काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई वृद्धि गरेको छ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा अप्ठ्यारोमा परेका नेपाली गर्भवती तथा बालबालिकाको लागि थप आर्थिक सहयोग गर्ने भएको हो।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिबार सम्पन्न पदाधिकारी बैठकले कोभिड-१९ बाट पीडित गैरआवासीय नेपालीहरुलाई तेस्रो चरणअन्तर्गत कुवेत र युएईमा ६/६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीको लागि २/२ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ।
संघले हालसम्म विदेशमा कोभिड पीडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरेको छ। श्रेष्ठका अनुसार संघले आवश्यक परेमा कोरोना भाइरसका कारणले समस्यमा परेका नेपालीका लागि अन्य देशमा पनि संघले आर्थिक सहयोग गर्दै जाने नीति लिएको छ।
यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, इटाली, माल्टा, कुवेत, युएई, सउदी अरब र साइप्रसमा कोरोनाबाट प्रभावित नेपालीको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।