काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले देशभरका विभिन्न स्थानमा मिचिएको करिब ५०० विघा जग्गा सरकारको नाममा फिर्ता ल्याएको दावी गरेकी छन्। मन्त्री अर्यालले अन्तर्राष्ट्रिय सिमानाको शुद्ध नाप नक्सांकन, अभिलेख संरक्षण र व्यवस्थापनमा मन्त्रालय जुटेको समेत बताइन्।
लिपुलेक,कालपानी र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक भएकोप्रति खुसी व्यक्त गर्दै उनले अन्य स्थानमा देखिएका सीमा समस्या द्विपक्षीय वार्ताबाट समाधान हुने बताइन्।
सीमा विवादका सन्दर्भमा नेपाल-भारतका प्राविधिक सम्मिलित संयुक्त सीमा कार्य समूहले काम गरिरहेको सदनलाई जानकारी गराइन्। उनले भनिन्, ‘आगामी दिनमा भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत उल्लिखित स्थानहरुमा रहेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको छ।’
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री अर्यालले आर्थिक वृद्धि हासिल गर्नका लागि भूमिको उपयोग विहीन र बाँझो रहन नदिने प्रतिवद्धता जनाइन्। सीमान्तकृतलाई भूमि श्रोतमा पहुँच पुर्याउने कार्यमा मन्त्रालयले लागेको उनले बताइन्। मन्त्री अर्लायले व्यवस्थित बसोबासको व्यवस्थापन गर्ने कार्यमा मन्त्रालयले आफ्ना कार्य अघि बढाएको सदनलाई जानकारी गराइन्।
मन्त्रालयले भूमि सम्बन्धी कार्यका लागि अनलाइन प्रविधिलाई उच्च महत्व दिएको उनले दाबी गरिन्। सहकारीलाई उत्पादनसँग जोडेर र रोजगारी सिर्जना गरिने उनले बताइन्।
भूमिहीन, सुकुम्बासी, दलित, अव्यवस्थित बसोबासीको समस्या सम्बोधन गर्न बनाइएको भूमि आयोग अन्तिम आयोग हुने प्रष्ट पारिन्। उनले भनिन्, ‘यसै आयोगलाई अन्तिम आयोग मानेर समस्यालाई सधैंको लागि समाधान गर्ने गरी काम गर्दैछौं।’ कमैया र हलियाहरुको पुनर्स्थापना कार्य लगभग सकिएको जानकारी गराइन्।
कृषियोग्य जग्गाको संरक्षण हुने, जग्गा बाँझो रहन नदिने, खाली जग्गाको उचित उपयोग गर्ने, जग्गाको कित्ताकाटमा देखिएका द्विविधाहरुको अन्त्य आगामी आर्थिक वर्षमा हुने प्रतिवद्धता मन्त्री अर्यालले जनाइन्। जग्गा बाँझो रहन नदिन भूमि बैंकको अवधारणालाई कार्यान्वयन गरिने उनको भनाइ थियो।
कोभिड–१९ पश्चात् वैदेशिक रोजगारीबाट फर्कने युवाहरुलाई स्वरोजगार र कृषि उद्यमी बनाउन समेत भूमि बैंकले ठूलो सहयोग पुर्याउने आशा उनले व्यक्त गरिन्।
सगरमाथाको उचाइ मापनको फिल्ड कार्य सम्पन्न भएको जनाउँदै उनले निकट भविष्यमा वास्तविक उचाइ घोषणा गरिने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।