काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा विरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका व्यवसायी तथा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकल विरुद्ध खेद प्रस्ताव पारित भएको छ।
महासघंको शुक्रबार बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए। दर्ता भएको खेद प्रस्तावमा अध्यक्ष राणाले हस्ताक्षर गरेसँगै प्रस्ताव पारित भएको एक पदाधिकारीले नेपाललाइभसँग बताए।
पूर्वअध्यक्ष ढकालको पक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठले मात्रै बोलेका थिए भने अन्य सबैले खेद प्रस्तावको पक्षमा आफ्नो समर्थन रहेको भन्दै बोलेका थिए।
प्रधानले पूर्वअध्यक्ष ढकालले अध्यक्ष राणाको मानमर्दन गरेको भन्दै खेद प्रस्ताव दर्ता गराएका थिए। प्रधानले दर्ता गराएको प्रस्तावमा अध्यक्ष राणाले आज सोमबार हस्ताक्षर गरेसँगै पारित भएको हो।
लकडाउनकै बीच साधारणसभाको मिति तोक्न ढकाल समूहले दबाब दिएको थियो। तर, अध्यक्ष राणा लगायत अधिकांश सदस्यहरुबाट समय तोक्न नहुने सुझाव आएको थियो।
अधिकांश सदस्यहरुको सुझावपछि महांसघको साधारण सभाको मिति तोकिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।