काठमाडौं- रंगभेदविरुद्ध भइरहेका प्रदर्शनहरुलाई समर्थन गर्दै इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले अहिलेको विश्व परिवेशमा आफूहरुले लडिरहनु परेको सबैभन्दा घातक रोग नै रंगभेद रहेको बताएका छन्।
कोरोना भाइरस (कोभिड १९) का कारण जोखिम रहेको बन्दै बेलायत सरकारले ठूलो संख्यामा मानिसहरु जम्मा नहुन भनिरहेको भए पनि रंगभेदविरुद्ध ठूला प्रदर्शनहरु भइरहेका छन्।
अमेरिकामा प्रहरी हिरासतमा हत्या गरिएका अफ्रिकन-अमेरिकन नागरिक जर्ज फ्लोयडको न्यायको माग गर्दै सुरु भएको रंगभेदविरुद्धको प्रदर्शन अहिले निकै फैलिएको छ।
‘अहिलेको समयमा सबैभन्दा महत्वपूर्ण विषय नै यही नै भएको छ। किनभने निकै लामो समयदेखि यो विभेदको चक्र चलिरहेको छ। कोरोना भाइरस जस्तै रंगभेद सकाउने उपाय पनि हामी खोजिरहेका छौँ’ स्टर्लिङलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
‘अहिलेको यो समयमा आन्दोलनमा लागिरहेका सबैले खोजेको विषय रंगभेदको साचो अर्थमा अन्त्य नै हो। मानिसहरुले भोगिरहेका र देखिरहेका रंगभेदका विषयहरु समाप्त होउन् भन्ने सबैको चाहना छ’, उनले भनेका छन्, ‘शान्त रुपमा न्यायको माग गरी कसैलाई पनि हानी नगरी भइरहेका यी प्रदर्शनहरु अझै निरन्तर हुने देखिन्छ।’
रंगभेदविरुद्ध अहिले भइरहेका आन्दोलनहरुमा विश्वभरबाट खेलाडीहरुले निरन्तर आवाज उठाइरहेका छन्। स्टर्लिङकै इंग्ल्याण्ड टिमका साथीसमेत रहेका जोर्डन सान्चोले बुन्डेसलिगामा मैदानबाट नै उठाएको आवाजपछि खेलाडीहरु खुलेर बोलिरहेका छन्।
प्रिमियर लिग क्लबहरु न्युक्यासल, लिभरपुल, चेल्सीलगायतले अभ्यासको दौरान घुँडा टेकेर रंगभेदविरुद्ध सन्देश दिएका छन्। फुटबलरहरुले मात्रै होइन क्रिकेट, बास्केटबल, फुर्मला वान, गल्फलगायत अन्य खेलका विश्वचर्चित खेलाडीहरुले पनि सामाजिक सञ्जालमार्फत रंगभेदविरुद्ध आवाज उठाइरहेका छन्।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक देशका लिगसम्बद्ध व्यक्तिहरुलाई खेलाडीहरुले पछिल्लो समय गरिरहेका विरोधमा ‘व्यावहारिक ज्ञान’ प्रयोग गरेर व्यवहार गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।