काठमाडौं- गएको सिजनदेखि नै नयाँ स्ट्राइकर ल्याउने योजनामा लागेको स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानका लाउटारो मार्टिनेजलाई भित्र्याउने योजना पक्का गर्न ढिलाइ गर्दा समस्या बढिरहेको छ। मार्टिनेजलाई रियल मड्रिड र म्यानचेस्टर युनाइटेडले समेत पहल गरिरहेको छ।
लुइस स्वारेजको ढल्किँदो उमेरका कारण भविष्यसम्मका लागि नयाँ खेलाडीको खोज आवश्यक रहेको बार्सिलोनाको बुझाइ छ। स्वारेजको स्थानमा ल्याइने खेलाडी उही स्तरको हुनुपर्ने भन्दै केही खेलाडीको खोजमा लागेको बार्सिलोनाले मुख्य केन्द्रमा मार्टिनेजलाई राखेको हो।
अर्जेन्टिनाका मार्टिनेजको मेस्सीसँगको तालमेल राम्रो भएकाले पनि त्यसले सहज हुने विश्वास गरिएको छ। मार्टिनेजको रोजाइँमा बार्सिलोना पर्ने आधार पनि उनको मेस्सीसँगै रहन पाउने अवसरलाई हेरिएको राखिएको छ।
लाउटारो बार्सिलोना आउन तयार देखिए पनि केही रकम र आएपछिको बोनसलगायत विषयमा अझै सहमति जुटेको छैन। १०० मिलियन युरोमा बढिरहेको छलफलमा इन्टर मिलानले कुन योजना अघि सार्छ भन्ने पनि यकिन छैन। १०० मिलियन युरोलाई कम गरेर ७० मिलियनमा झार्ने र त्यसको सट्टामा एक या दुई खेलाडीसमेत दिने योजना पनि बार्सिलोनाले अघि सारेको छ।
कोरोना भाइरस (कोभिड १९) का कारण आइपरेको आर्थिक समस्यामा बार्सिलोना कसरी अगाडि बढ्छ भन्ने पनि यकिन छैन। जुनमा अन्त्यसम्ममा बार्सिलोनाले १ सय ५० मिलियन युरो कमाइ गुमाउँदै छ। अहिले नै खेलाडीहरुको तलब ७० प्रतिशत कम गरेको बार्सिलोनाले खेलाडीहरुमाथि नै थप भार पार्ने योजना बनाइरहेको देखिन्छ।
इन्टर मिलानसँग मार्टिनेजको सम्झौता २०२३ को जुनसम्मका लागि रहेको छ। त्यसैले नयाँ सम्झौताका लागि इन्टरले कुराकानी गरिरहेको बताइन्छ। तर युरोपका अरु क्लबबाट आइरहेको चासोका कारण मार्टिनेज पर्ख र हेरको स्थितिमा नै देखिन्छन्। बार्सिलोना पनि मार्टिनेज आफ्नो क्लबमा आउने विश्वासका साथ कुराकानी अघि बढाएको छ।
अर्जेन्टिनाको क्लब लिनियर्स हुँदै रेसिङ क्लबको युवा टिम र रेसिङकै सिनियर टिम हुँदै मार्टिनेज २०१८ मा इन्टर मिलान गएका थिए। २२ वर्षका मार्टिनेजले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट समेत २०१८ देखि खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।