काठमाडौं- एसियन फुटबल फेडेरसन (एएफसी) ले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ र चीनमा आयोजना हुने एएफसी एसियन कप २०२३ अन्तर्गत छनोट चरणका बाँकी खेल अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव गरेको हो।
यसअघि यी खेलहरु २०२० को मार्च र जुनमा हुनुपर्ने थियो। तर कोरोना भाइरस (कोभिड १९) का कारण आइपरेको परिस्थितिले खेल स्थगित भएका थिए। अहिले एएफसीले फिफासँग परामर्श गरेर छनोट खेलहरु अक्टोबर र नोभेम्बरमा गर्ने प्रस्ताव अघि सारेको हो।
जसअनुसार सातौँ र आठौँ चरणका खेलहरु अक्टोबर ८ र १३ तारेखमा हुनेछन्। यस्तै नवौँ र दशौँ चरणका खेलहरु नोभेम्बर १२ र १७ तारेखमा हुनेछन्।
छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ। जसमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्न बाँकी रहेको छ। समूह बी मा रहेको नेपालले सबै अवे खेल खेलिसकेको छ।
दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले यसअघि नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो। छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो। यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो। अवे खेल अन्तर्गत नेपालले चाइनिज ताइपेइलाई २–० ले हराएको थियो।
नेपालको पाँच खेलमा ३ अंक रहेको छ। शीर्ष स्थानमा रहेको अष्ट्रेलियाको ४ खेलमा १२ अंक छ। दोस्रो र तेस्रोमा रहेको कुवेत र जोर्डनको समान १० अंक छ। नेपालभन्दा तल रहेको चाइनिज ताइपेइले पाँचै खेल हारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।