काठमाडौं- इंग्लिस प्रिमियर लिगमा बाँकी रहेका खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने फिफाको नियम लागु हुने भएको छ। कोरोना भाइरस (कोभिड १९) का कारण आइपरेको परिस्थितिमा खेलाडीको स्वास्थ्यलाई विचार गरी फिफाले एकै खेलमा पाँच खेलाडीसम्म परिवर्तन गर्न पाइने नियम बनाएको हो।
झण्डै तीन महिना रोकिएको प्रिमियर लिग फुटबल जुन १७ तारेखमा सुरु हुँदैछ। खेलहरु बन्द रंगशालामा हुनेछन्। लिग उपाधि शीर्ष स्थानमा रहेको लिभरपुलले जित्ने लगभग पक्का देखिन्छ।
अहिले ९० मिनेटको खेलमा एक टिमले तीन जनासम्म खेलाडी परिवर्तन गर्न पाउँछन्। र अतिरिक्त समयमा जाने खेलमा थप एक खेलाडी परिवर्तन गर्न पाइन्छ। त्यसलाई बढाएर टिमले ९० मिनेटमा पाँच जनासम्म खेलाडी परिवर्तन गराउन पाउने र अतिरिक्त समयमा एक जना नै परिवर्तन गर्न पाउने अस्थायी नियम बनाइएको हो।
तर ९० मिनेटको समयमा टिमले पाँच खेलाडी परिवर्तन गरे पनि परिवर्तन गर्ने समय भने तीन पटक मात्र पाउने छन्। मध्यान्तरमा पनि खेलाडी परिवर्तन गर्न पाइने नै छ। त्यसमा दुवै टिमले एकै पटक खेलाडी परिवर्तन गर्दा त्यसलाई परिवर्तनका लागि दिइएको एक समय मात्र मानिने छ।
कम समयमा धेरै खेल खेल्नुपर्ने अवस्था आउने र खेलाडीहरुको फिटनेसमा समस्या आउन सक्ने भन्दै फिफाले यस्तो तयारी गरेको हो। त्यसैले खेलाडी परिवर्तनका सम्बन्धमा केही समयमा लागि मात्रै भए पनि फिफाले नियम ल्याएको देखिन्छ।
फिफालाई यस्तो नियमका लागि सबैभन्दा पहिला इंग्लिस फुटबल एशोसियसनले प्रस्ताव गरेको थियो, जसमा अहिले अरु फुटबलसम्बद्धहरु पनि सहमत भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।