काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक देशका लिगसम्बद्ध व्यक्तिहरुलाई खेलाडीहरुले पछिल्लो समय गरिरहेका विरोधमा ‘व्यावहारिक ज्ञान’ प्रयोग गरेर व्यवहार गर्न आग्रह गरेको छ।
विशेष गरी अमेरिकामा प्रहरी हिरासतमा हत्या गरिएका जर्ज फ्लोयडको न्यायका लागि भइरहेका विरोधमा खेलाडीहरुले ऐकेबद्धता जनाइरहेका छन्। सामाजिक सञ्जालमा त्यसरी ऐकेबद्धता जनाउन खेलाडीहरु स्वतन्त्र रहे पनि मैदानमा देखाउने व्यवहारमा भने फिफाको नियमले रोक लगाएको देखिन्छ।
फिफाको २०१४ को नियमअनुसार खेलाडीले मैदानमा कुनै पनि राजनीतिक, धार्मिक र व्यक्तिगत नाराहरु, भावनाहरु र तस्बिरहरु प्रस्तुत गर्न पाउने छैनन्। जसमा गोलपछि खेलाडीले जर्सी खोलेर खुसी नमाउन भनिएजस्तै नियम पालना गराउन खोजिएको देखिन्छ।
तर जर्मन बुन्डेस लिगाका पछिल्ला खेलहरुमा नै खेलाडीहरुले स्वतन्त्र रुपमा आफ्नो विचार मैदानबाट प्रस्तुत गरिरहेका छन्। विशेष गरी बोरुसिया डोर्टमुन्डका जाडन सान्चो र अचरफ हाकिमीले ‘जस्टिस फर जर्ज फ्लोयड’ लेखिएको टिसर्ट नै देखाएका थिए।

जर्मन फुटबल एशोसियसनले उक्त अवस्थाको विचार गरिरहेको जनाएको छ। इंग्ल्याण्डका खेलाडी सान्चोले त्यसरी जर्सी खोलेर भित्री लुगामा लेखिएको नारा देखाएपछि उनलाई रेफ्रिले पहेँलो कार्ड देखाएका थिए। तर उक्त पहेँलो कार्ड उनको विचारका लागि नभएर उनले जर्सी खोलेका कारण देखाइएको बताइएको छ।
फिफाले मंगलबार एक सन्देश जारी गर्दै पछिल्लो समय भइरहेका अवस्थाका बारेमा आफूहरु जानकार रहेको र विशेष गरी जर्ज फ्लोयडको दुःखद अवस्थाले निम्ताएको परिस्थितिमा लिग सम्बद्धहरुले व्यावहारिक ज्ञानको प्रयोग गर्नुपर्ने जनाएको छ।
‘फिफाका कतिपय नियमहरु परिस्थितिजन्य अवस्थाका कारण लिग आयोजकहरुले नै व्यावहारिक ज्ञान प्रयोग गरेर अघि बढ्नुपर्ने देखिएको छ। फिफा जहिले पनि रंगभेद र अरु जुनसुकै किसिमका विभेदविरुद्ध छ’ फिफाको सन्देशमा भनिएको छ।
प्रिमियर लिग क्लबहरु न्युक्यासल, लिभरपुल, चेल्सीलगायतले अभ्यासको दौरान घुँडा टेकेर रंगभेदविरुद्ध सन्देश दिएका छन्। फुटबलरहरुले मात्रै होइन क्रिकेट, बास्केटबल, फुर्मला वान, गल्फलगायत अन्य खेलका विश्वचर्चित खेलाडीहरुले पनि सामाजिक सञ्जालमार्फत रंगभेदविरुद्ध आवाज उठाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।