काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको इंग्लिस प्रिमियर लिग जुन १७ मा सुरु हुनुअघि क्लबहरुले मैत्रीपूर्ण खेल खेल्न पाउने भएका छन्। स्वास्थ्य सुरक्षाका सबै उपाय अपनायर मैत्रीपूर्ण खेल खेल्न प्रिमियर लिगले क्लबहरुलाई अनुमति दिएको हो।
क्लबहरुले प्रिमियर लिगमा खेल्नुअघि अरु क्लबसँग मैत्रीपूर्ण खेलका लागि आग्रह गरेका थिए। जुन आग्रह स्वीकार गरिएको हो। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले सोमबार नै इलाभेन ए साइड खेल नै खेलेको थियो। मैत्रीपूर्ण खेलहरु मैदानमा या त अभ्यासस्थलमा नै पनि गर्न सकिने भएको छ।
तर मैत्रीपूर्ण खेलका लागि पनि खेलाडीहरुको नियमित स्वास्थ्य परीक्षण भने आवश्यक छ। प्रिमियर लिगका खेलाडीहरु अभ्यासमा सामेल भएसँगै हप्तामा दुई पटक कोरोना भाइरसको परीक्षण गरिएको छ। जसमा १२ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा छन्।
मैत्रीपूर्ण खेलका लागि खेलाडीहरु मैदानसम्म जाँदा आफ्नै सवारी साधनमा आफ्नो खेल सामग्रीसहित जानुपर्र्ने छ। उनीहरुले ९० मिनेटभन्दा लामो दुरी पार गरेर खेल्न जान पाउने छैनन्। अफिसियल रेफ्रि र लाइन्समेनको व्यवस्था हुने छैन, जुन प्रशिक्षण सदस्यबाटै हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।