काठमाडौं- नेपालको उत्तरी सिमाना सगरमाथा आसपास चिनियाँ जहाज उडेको समाचारले मिडियादेखि सोसियल मिडियासम्म गरमागरम भइरहेको छ। भारतले नेपाली भूमिमा सडक उद्घाटन गरेपछि सुरु भएको नेपाली सीमा बहसका बेला चीन भने शान्त र मैत्रीपूर्ण सम्बन्ध भएको उत्तरी छिमेकी देशका रुपमा स्थापित भयो। तर यो बहस सेलाउन नपाउँदै चीनले यसरी नेपाली आकाशमा जहाज उडाएको भन्दै विभिन्न आशंका पनि व्यक्त भए।
यो विषयमा जिज्ञासा लागेर हामीले नेपालको उड्डयन नियामक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सम्पर्क गर्यौं। प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालको अनुमतिमा नै चीनले सगरमाथा आसपासको नेपाली आकाशमा जहाज उडान गरेको हो।
'सीमा सर्वेक्षणका लागि चीनले नेपालसँग अनुमति लिएको छ। पछिल्लो पटक सगरमाथा आसपास उडेको चिनियाँ जहाज पनि सीमा सर्वेक्षणका लागि नै उडेको हो,' नेपाल लाइभसँगको सम्पर्कमा उनले भने।
उनका अनुसार चीनले सन् २०२० मा दुई पटक यस्तो उडान गर्न अनुमति लिएको छ। पहिलो चरणमा मे १ देखि जुन ३० सम्मका लागि लिइएको अनुमति दोस्रो चरणमा भने सेप्टेम्बर ३० देखि डिसेम्बर ३० सम्म लागू हुने समेत प्राधिकरणले जनाएको छ।
दुई देशीय सीमामा यस्तो सर्वेक्षण गर्दा दुवै देशको सहमतिमा र अर्को पक्षको अनुमतिमा उडान गर्नुपर्ने हुन्छ भने त्रिदेशीय सीमा क्षेत्रमा सर्वेक्षण गर्दा तीनवटै देशको सहमतिमा दुवै देशको अनुमति लिनुपर्छ। नेपालले पनि यस्तो सर्वेक्षण गर्न चाहेको खण्डमा अनुमति लिएर सीमा क्षेत्रमा अर्को देशको आकाशमा उडान गर्न पाउने प्राधिकरणको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।