काठमाडौं- इंग्लिस फुटबल क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लामो समयपछि फुटबल मैदानमा फर्कन पाएकोमा आफू निकै खुसी रहेको बताएका छन्। प्रिमियर लिग जुन १७ बाट सुरु हुने तयसँगै अभ्यासमा सामेल भएका उनले रोकिएको समयमा फुटबलको याद निकै आएको पनि बताए।
प्रिमियर लिग कोरोना भाइरस (कोभिड १९) का कारण गएको मार्च १३ देखि रोकिएको थियो। ३० वर्षमा पहिलोपटक उपाधि जित्न लागेको लिभरपुल प्रिमियर लिगमा २५ अंकको फरक पार्दै शीर्ष स्थानमा छ।
‘हुन त खेल जीवनका लागि सबैभन्दा महत्वपूर्ण विषय त होइन तर पनि कोरोनाका कारण रोकिएको समय मलाई फुटबलको निकै याद आयो, फुटबल मेरा लागि उत्साह हो। अब धेरै मानिसले फुटबलमा आफूलाई लगाउन पाउने छन्’ क्लोपलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
अहिलेको नयाँ समीकरण अनुसार यदि जुन १७ मा हुने खेलमा म्यानचेस्टर सिटीले आर्सनलसँग हारेमा लिभरपुलले आफ्नो पहिलो खेल जितेर नै उपाधि पाउन सक्छ। अहिलेसम्म म्यानचेस्टर सिटी र आर्सनल साथै एस्टोन भिला र सेफिल्ड युनाइटेडबीच हुने खेल मात्र तय छ। त्यसको अर्को हप्ता बाँकी नियमित खेल हुनेछन्।
क्लोपले आफूहरुले अझ धेरै काम गर्न बाँकी रहेको र मिलेसम्म धेरैभन्दा धेरै खेल जित्ने चाहना रहेको बताएका छन्। ‘छिटो उपाधि जित्ने कुरा सोच्न रमाइलो नै हुन्छ तर पनि हामी अहिलेसम्म विजेता भइसकेका छैनौँ। हामीलाई थाहा छ हामी उपाधिको नजिक छौँ तर नजिक हुनु पनि प्राप्त गर्नु होइन’ उनले भने।
‘एक खेलमा या दुई खेलपछि उपाधि नै जित्यौँ भने पनि बाँकी रहेका खेलमा हाम्रो मेहनत उस्तै हुनेछ। मैदानमा जहिले पनि कडा मेहनत नै गर्नुपर्छ, चाहे तपाइँसँग जतिसुकै स्टार खेलाडी होउन्।’
मे २८ देखि सामूहिक रुपमा अभ्यासमा सामेल भएका प्रिमियर लिग खेलाडीको हप्तामा दुई पटक नियमित कोरोना भाइरसको परीक्षणसमेत भइरहेको छ। कोरोना संक्रमण देखिएका १२ जना खेलाडी अहिले आइसोलेसनमा छन्।
प्रिमियर लिगमा अब बाँकी रहेका ९२ खेलमा सबै खेल बन्द रंगशालामा नै हुनेछन्। यसमा लिभरपुलका खेलाडी भने आफूहरुले उपाधि जित्दा दर्शकसँगै हुन नपाउनु नरमाइलो क्षण हुने बताइरहेका छन्। प्रशिक्षक क्लोप भने कोरोना भाइरसबाट अवस्था सामान्य भएपछि र धेरै मानिस एकै ठाउँमा जम्मा हुन मिल्ने समय आएपछि उपाधिको खुशी सबैसँग साट्ने बताउँछन्।
‘यदि हामीले उपाधि जित्यौँ भने खेलाडीहरुसँग जे जति मिल्छ त्यसरी नै खुशी साटासाट गर्नेछौँ र अवस्था सामान्य भएपछि समर्थकहरुसँग खुशी साट्नेछौँ। म सबैलाई भन्न चाहन्छु जतिसुकै ढिला होस् तर हामी विजयको र्याली अवश्य पनि निकाल्नेछौँ’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।