काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा रहेका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले कोरोना भाइरस (कोभिड १९) पछिको समयमा फुटबल खेल मात्र नभएर मानिसको जीवन नै पहिलेको जस्तो नहुने बताएका छन्।
कोरोना भाइरस संक्रमणमा कमि आउँदै गएपछि युरोप अहिले सामान्य अवस्थामा फर्कने प्रयास गरिरहेको छ। जर्मनमा बुन्डेस लिगाका खेलहरु चलिरहेका छन्। इंग्ल्याण्ड, स्पेन र इटालीले पनि लिग सुरु हुने मिति तय गरिसकेका छन्। खेलाडीहरु अभ्यासमा छन्।
यस्तो अवस्थाबाट बाहिर निस्कन मुस्किल हुने भन्दै मेस्सीले भनेका छन्- ‘हामीमध्ये हरेकलाई लागिरहेको छ यो सबै भइसकेपछि अबको जीवन पहिलेको जस्तो हुने छैन।’
‘एक्कासी महामारीको रुपमा आएको भाइरसका कारण गर्नुपरेको लकडाउनले धेरैको जीवन समस्यामा परेको छ। केही न केही रुपमा हरेकको जीवनलाई असर गरिरहेको छ। जसले आफ्नो परिवारका सदस्य गुमाएका छन् उनीहरुले अन्त्येष्टीमा समेत सहभागी हुन पाएका छैनन्’ उनले भनेका छन्।
‘यो संकटको समयमा धेरै कुरा नकरात्मक हुँदै जानेछ जस्तो लागिरहेको छ। तर तपाइँ आफूले माया गर्ने नजिकको मानिस गुमाउनुभन्दा दुःखद अर्को के विषय होला र? यस्ता कुराहरुले म दुःख महसुस गरिरहेको छु।’
खेलकुद पनि पहिलेको समयमा जस्तो नहुने मेस्सीको बुझाइ छ। स्पेनमा ला लिगा जुन ११ बाट सुरु हुने तय भएको छ। खेलाडीहरु अहिले सामूहिक अभ्यासमा छन्। लिग तालिकामा रियल मड्रिडभन्दा दुई अंकले अघि रहँदै बार्सिलोना शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।