काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्ट्राइकर माउरो इकार्डीलाई इन्टर मिलानबाट ६० मिलियन युरोमा अनुबन्ध गरेको छ। गएको सेप्टेम्बरमा एक सिजनका लागि लोनमा पिएसजी आएका इकार्डीलाई स्थायी रुपमा क्लबले भित्र्याएको हो।
अर्जेन्टिनी खेलाडी इकार्डीले पिएसजीसँग २०२४ जुनसम्मका लागि सम्झौता गरेका छन्। कोराना भाइरस (कोभिड १९) का कारण लिग रोकिनुअघि इकार्डीले सबै प्रतिस्पर्धामा गरेर ३१ खेलमा २० गोल गरेका थिए। १० खेल बाँकी रहँदा अप्रिल ३० मा रोकिएको लिग स्थगित गरेर शीर्ष स्थानमा रहेको पिएसजीलाई विजेता घोषणा गरिएको छ।
इकार्डीलाई पिएसजीमा आफ्नो स्थानका लागि विशेष गरी इडिसन काभानीसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। पिएसजीका उच्च गोलकर्ता काभानीको सम्झौता जुन ३० मा सकिँदैछ।
इन्टर मिलानले पनि विज्ञप्तीमार्फत इकार्डी स्थायी रुपमा पिएसजी गएको उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।