काठमाडौं- जर्मन बुन्डेस लिगामा बोरुसिया डोर्टमुन्डले एससी पार्डाबोनलाई ६-१ ले हराएको छ। बोरुसिया डोर्टमुन्डको जितमा सान्चोले ह्याट्रिक गरे। हाजार्ड, हाकिमी र क्लेम्जरले एक-एक गोल गरे। पार्डाबोनका लागि पेनाल्टीमार्फत हुनेमियरले एक गोल गरे।
बोरुसिया डोर्टमुन्डको जितमा २० वर्षका सान्चोको ह्याट्रिक उनको खेल जीवनकै पहिलो ह्याट्रिक हो। खेलको ५७औँ र ७४औँ मिनेटमा गोल गरेका उनले अतिरिक्त समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
सान्चोले पहिलो गोल गरेपछि नै टिसर्टमा लेखिएको शब्दमार्फत रंगभेदविरुद्ध आफ्नो आवाज देखाएका थिए। ‘जर्ज फ्लोयडलाई न्याय’को माग गरेर उनले गोलको सेलिब्रेसन गरे। जर्ज फ्लोयड अमेरिकामा रंगभेदको शिकार भएका थिए। प्रहरीले निर्मम तरिकाले प्रकाउ गर्दा उनको मृत्यु भएको थियो।
खेलपछि सान्चोले न्याय माग गरिएको आफ्नो फोटो ट्वीटरमा सेयर गर्दै लेखेका छन्- ‘खेल जीवनकै पहिलो ह्याट्रिक गर्न पाउँदा खुसी छु। तर विश्वमा अहिलेको समयमा महत्वपूर्ण अरु मुद्दाहरु रहेकाले अलिकति नरमाइलो पनि लागिरहेको छ। यस्तो परिस्थितिमा परिवर्तनमा मद्धत गर्नका लागि हामी आवाज उठाउनुपर्ने भएको छ।’
जर्ज फ्लोयडको न्यायका लागि विश्वभर आवाजहरु उठिरहेका छन् भने अमेरिकामा विरोध प्रदर्शनसमेत भइरहेका छन्। उनको न्यायका लागि सान्चोसँगै अरु खेलाडीहरुले पनि आवाज उठाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।