मानव जातिका लागि कोभिड १९ रोगको विश्वव्यापी संकट देखिइरहेका बेला दक्षिण एसिया, मध्यपूर्वी देश र केही अफ्रिकी तथा युरोपेली देशहरुमा वनस्पतिका लागि सलह किराको प्रकोप देखिएको छ। पछिल्लो तीन वर्षयता अफ्रिका र युरोपका देशहरुले यसको समस्या भोगिरहेका छन् भने अहिले दक्षिण एसियाली मुलुकमा सलह किराको आक्रमण नियन्त्रण बाहिर छ।
छिमेकी मुलुक भारतमा भित्रिसकेको सलह किराको आतंक नेपाल पनि भित्रन सक्ने अनुमानका बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यसको नेपाल प्रवेश रोकथाम तथा जोखिम न्युनीकरणबारे अध्ययन गर्न ६ सदस्यीय प्राविधिक समिति गठन गरिसकेको छ। सलह किराको प्रकोप नियन्त्रण तथा रोकथामका लागि अबलम्बन गरिनुपर्ने सुरक्षा उपायबारे अध्ययन गर्न प्लान्ट क्वारेन्टाइन एवं विषादी परीक्षण केन्द्रका प्रमुख सहदेश प्रसाद हुमागाईंको संयोजकत्वमा कृषि बैज्ञानिक तथा प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको हो।
उक्त समितिले आइतबार वा सोमबारसम्ममा अध्ययन प्रतिवेदन बुझाइसक्ने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डा हरि बहादुर केसीले बताए। समितिले सलह किरा नेपाल आउने–नआउनेबारे जोखिम विश्लेषणसँगै पूर्व तयारीका कामहरु कसरी गर्ने भनेर शुक्रबार संयुक्त राष्ट्र संघ खाद्य एवं कृषि संगठन (युएनएफएओ) का विज्ञहरुसँग छलफल गरेको पनि प्रवक्ता केसीले बताए।
‘हाम्रो पुस्ताले नै यस्तो खालको समस्या भोगेको छैन। त्यसकारण कसरी संकट व्यवस्थापन गर्ने भनेर जानकारी लिन हाम्रै आग्रहमा एफएओका विज्ञहरुसँग छलफल भएको हो’, उनले भने।
विज्ञहरुको धारणा– नेपाल भित्रने सम्भावना न्यून छ
छलफलका क्रममा एफएओका विज्ञहरुले नेपालमा सलह आउन सक्ने सम्भावना निकै कम भएको धारणा राखेको प्रवक्ता केसीले बताए। ‘ग्यारेन्टीका साथ आउँदैन भन्नसक्ने अवस्था त छैन। तर सम्भावनाचाहिँ निकै कम छ भन्ने विज्ञहरुको धारणा आएको छ’, उनले नेपाल लाइभसँग भने।
नेपालमा सलह संकट आउन नसक्ने आधारका रुपमा दुईतीन वटा कारणलाई लिन सकिने डा केसी बताउँछन। ‘भारतको राजस्तान र दिल्ली आसपासमा अहिलेको हावाको गति तथा दिशा र मौसमी अवस्थाका कारणले सलह नेपाल आउने सम्भावना निकै कम छ। यदि आइहाले पनि निकै सानो झुण्ड मात्रै आउने र छोटो समयका लागि आएर फेरि राजस्तानतिरै फर्किन्छ भन्ने अनुमान गरिएको छ’, उनले भने।
त्यस्तै नेपालको हावापानी र मौसम सलह किराको आनीबानीका लागि अनुकूल नभएका कारण पनि नेपालमा यसको प्रकोप नदेखिने आकलन विज्ञहरुको छ।
‘मनसुन सुरु भएपछि सलह किराको फौज नेपालमा नबस्ने सम्भावना र नेपालको हावापानी उसको प्रजनन क्रियाका लागि त्यति सुहाउँदो नभएका कारण यो ठूलो संकटका रुपमा देखिँदैन भन्ने सुझाव विज्ञहरुबाट आएको छ,’ डा केसी भन्छन्।
पूर्व तयारी के छ?
पूर्व सतर्कताका काम र नेपाल आइहालेको खण्डमा कसरी व्यवस्थापन गर्ने भनेर कृषकहरुलाई जागरुक गराउने तयारी थालिसकेको पनि प्रवक्ता केसीले बताए। ‘मौसमी कुरा थाहा हुँदैन। ठूलो आँधी आएर एकैचोटी बढारेर नेपाल ल्याउन पनि सक्छ। यसकारण हामीले सुदूर पश्चिम प्रदेश र प्रदेश ५ लाई सतर्क रहन भनेर लिखित रुपमै भनिसकेका छौं’, केसी भन्छन्।
त्यस्तै मन्त्रालयमार्फत विभिन्न माध्यामबाट सूचना सम्प्रेषण र जनचेतनाको काम पनि सुरु भइसकेको छ। किटनाशक औषधि र छर्ने औजार उपकरणहरु उपलब्ध रहे–नरहेको तथा आवश्यकता र उपलब्धताबारे अध्ययन गर्ने जिम्मेवारी भने समितिलाई नै दिइएको छ। ‘किटनाशक केहि मौज्दात छ भन्ने आएको छ। तर त्यसले कति पुग्छ भन्ने हो। कति उपलब्ध छ र कति आवश्यक छ भनेर विस्तृत अध्ययन समितिले गरिरहेको छ’, केसीले भने।
भारतले के गर्दैछ?
संयुक्त राष्ट्र संघ खाद्य एवं कृषि संगठन (युएनएफएओ)ले मे महिनामा जारी गरेको बुलेटिनमा अहिले इरान र दक्षिण पश्चिम पाकिस्तानमा बसन्त प्रजनन चलिरहेको र यो आगामी जुन/जुलाईसम्म कायम रहने जनाएको छ। भारत र पाकिस्तानमा जुनको पहिलो साता हुनसक्ने वर्षाले सहलको प्रजनन प्रक्रियामा थप मद्दत पुग्ने युएनएफएओले जनाएको छ। जसकारण सलहको प्रकोप भारत र पाकिस्तानमा जुन महिनामा अत्याधिक देखिनेछ।
भारतका विभिन्न राज्यमा हालसम्म १ लाख ५० हजार एकड जमिनमा सलह किराले नोक्सानी पुर्यासकेका छन्। कृषि एवं किसान कल्याण मन्त्रालयले सलह आतंक नियन्त्रणका लागि निर्देशिका जारीसमेत गरिसकेको छ। भारत केन्द्र सरकारको निर्णय मुताबिक ११ वटा नियन्त्रण कक्ष स्थापना गरी विषादि तथा किटनाशक छर्कन कर्मचारीहरु परिचालन गरिएका छन्।
अहिले दमकल, ड्रोन अर्थात ‘रिमोटली पाइलटेड एयरक्राफ्ट सिस्टम र हेलिकप्टरमार्फत विषादि छर्किरहेको छ। त्यस्तै किटानाशक छर्कन ९० वटा दमकल, १२० वटा सर्भे गाडी, विषादी छर्कने मेसिन जडान गरिएका ४७ वटा गाडी र ८ सय १० ट्याक्टरहरु भारतले परिचालन गरिरहेको छ। भारतले ठूलो मात्रामा किटनाशक खरिद प्रक्रिया पनि अगाडि बढाइसकेको छ। किटनाशक छर्किने सँगसँगै किसानहरुले सलह भगाउन ढोल, थाल बजाउने, लाउड स्पिकरहरु बजाउने जस्ता काम पनि गरिरहेका छन्।
एक वर्ग किलोमिटरमा ४ करोडको संख्यामा हिँडिरहेको सलहको यो समूहले १ दिनमा ३५ हजार मानिसको खाना सखाप पार्छन्। भारतमा २०१९ डिसेम्बरमा राजस्थानमा आएका थिए। यसको प्रकोप उत्तर प्रदेश, हरियाणा, दिल्ली र पंजाबसम्ममा फैलनसक्ने अनुमान गरिएको छ।
पछिल्लो तीन वर्षयता सलहको प्रकोप देखिन थाले पनि विगत वर्षहरुमा मानव गतिविधिका कारण तिनीहरु फैलन पाएका थिएनन्। तर यसवर्ष कोरोना भाइरस रोकथामका लागि जारी गरिएको लकडाउनका कारण मानव गतिविधिमा कमी आएपछि सलहको समूह अत्याधिक फैलिएको छ। अघिल्ला वर्षहरुमा पाकिस्तानले नियन्त्रणमा राख्न सकेकै कारण यसको प्रभाव भारतमा देखिन पाएको थिएन। तर यसवर्ष पाकिस्तानले सलह प्रकोप नियन्त्रण गर्न नसकेर संकटकाल नै घोषणा गरिसकेको छ।
के हो सलह?
सलह फट्याङ्ग्राको प्रजातिको एक फौजी किरा हो। यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउने भएकाले यसलाई शत्रुजीव मानिन्छ। सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको भए पनि पछिल्लो समय अन्टार्कटिका बाहेक सबै जसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ। सलहको जीवनचक्र ३ देखि ६ महिना अवधिको हुन्छ। ठूलो समुहमा बस्ने यो किरा एक दिनमा १ सय देखि २ सय किलोमिटरसम्म दूरी पार गर्छ। एक पटकमा एउटा पोथी सलहले ३ सयसम्म अण्डा पार्छ भने १० देखि २० दिनमा अण्डा फुटेर नयाँ सलह जन्मन्छ। शिशु सलह ४ देखि ५ हप्तामा वयस्क बन्छ। यो प्रजातिको किराले एक दिनमा आफ्नो वजनभन्दा धेरै खाना खान्छ।
अहिले पाकिस्तान हुदै भारत सम्म आइपुगेको सलह किराको फौज २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुलामा उत्पत्ति भएको मानिन्छ। मध्यपूर्वी देश हुँदै दक्षिण एसियामा समेत भित्रिसकेको यो किराको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।