काठमाडौं- पेसाले सफ्टवेयर डेभलपर। विशालनगरस्थित एक आइटी कम्पनीमा काम गर्थे।
त्यस वरपर खासै रेस्टुरेण्ट थिएन। खाजा खान केही टाढा जानुपर्थ्यो। समयको महत्त्व बुझेका उनलाई खाजाको लागि खर्चिने त्यो समय बचाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर, उनीसँग विकल्प थिएन।
करिब डेढ दशकअघिको कुरा हो यो।
उनी अर्थात् मनोहर अधिकारी। त्यतिबेला सोच्थे- खाजा अफिसमै मगाएर खान पाए रेस्टुरेन्टसम्म पुगेर खर्चनुपर्ने समय जोगिन्थ्यो। त्यो समय आफ्नो काममा उपयोग गर्न पाइन्थ्यो। तर, त्यो सुविधा कतै थिएन।
खाजाका लागि ‘अपायक’ लोकेसनमा कार्यालय हुँदा भोगेको त्यही समस्याबाटै मनोहरको दिमागमा नयाँ सोच पलायो, ‘अनलाइन फुड डेलिभरी’ सुरू गर्ने।
मनोहरको त्यही सोचबाट जन्मियो- फुडमाण्डु।
०००
जतिबेला मनोहरले अनलाइन फुड डेलिभरी सेवा सुरू गर्ने सोच बनाए, सहज पक्कै थिएन। कसैले सुरू नगरेको सेवा, त्यो पनि प्रविधिमा आधारित। विकसित मुलुकहरूमा चलिरहेकै भए पनि नेपालको लागि यो विल्कुलै नयाँ थियो। सूचना प्रविधिको पहुँच अहिलेजस्तो व्यापक बनिसकेको थिएन। नेपालमा इ-कमर्स व्यवसाय भर्खर-भर्खर सुरू हुँदै थियो। त्यो अवस्थामा अनलाइनबाट अर्डर गरेर खाना/खाजा खाने ग्राहक भेट्टाउनु निकै मुस्किल थियो।
त्यो अवस्थाकै बीच मनोहर चुनौती मोल्न तयार भए। सायद, उनले तत्काल होइन, केही वर्षपछि यसैमा भविष्य छ भन्ने बुझेका थिए।
कसैले नगरेको काम म गर्छु भनेर कसरी दिमागमा आयो?
‘आफूलाई परेको समस्याभित्र मैले सम्भावना खोजेको हुँ। सधैँ भोगिरहेको विषय भएर त्यो कतै न कतै अवचेतनमा बसेको रहेछ। हरेक दिन कहाँ जाने, के खाने? भनेर सोच्दा नै यो कुरा मेरो दिमागमा आएको हुनुपर्छ,’ फुडमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोहरले जवाफ दिए, ‘तर, यस्तो समस्या छ र म त्यसको समाधान निकाल्छु भनेर मैले त्यही बेला सुरू गरेको होइन।’
मनोहरले देखेको सपनालाई मूर्तरूप दिन लामै समय लाग्यो। सन् २००४ देखि २००६ सम्म विशालनगरको आइटी कम्पनीमा काम गर्दा पलाएको अनलाइन फुड डेलिभरीको सोचले ६/७ वर्ष बित्दासम्म मूर्तरूप पाउन सकेको थिएन।
‘२०१० तिर मलाई अनलाइन व्यापार (इ-कमर्स)मा केही गरौं भन्ने सोच पलायो। तर, के गर्ने भन्ने थाहा थिएन। अरू क्षेत्रमा पनि खोजीनीति गरियो,’ उनले भने।
केही नयाँ व्यवसाय गर्ने सोच बनाइरहँदा उनको दिमागभित्र कता-कता लुकेर बसेको त्यही अनलाइन फुड डेलिभरीको विषय आयो। सुरूमा अर्डर गर्ने प्लेटफर्मका रूपमा यसलाई सोचेका थिए। डेलिभरी कसरी हुन्छ भन्नेचाहिँ सोचेका थिएनन्।
‘मैले जानेको वेबसाइट, एप्लिकेसन बनाउन नै थियो। त्यही प्लेटफर्म कसरी बनाउन सकिन्छ भनेर सोच्दासोच्दै काम सुरू गरियो। तर, मैले डेलिभरी कसरी हुन्छ भन्ने सोचेको थिइनँ। डेलिभरी सर्भिस रेस्टुरेण्टले आफैं नदिने रहेछ। त्यसको पनि व्यवस्थापन आफैंले गर्नुपर्ने भयो भन्ने लाग्यो,’ मनोहरले सुनाए।
त्यो बेलामा अहिलेको जस्तो फुड डेलिभरीको अवधारणाबारे आममानिस जानकार थिएनन्। यस्तो काम गर्ने भनेपछि उनले विदेशमा भइरहेका अभ्यासहरूबारे अध्ययन गरे। कसरी यो काम हुँदो रहेछ भन्ने ‘आइडिया’ लिए।
डिग्री व्यवस्थापनमा, पेसा आइटीमा
मनोहर सूचना प्रविधि विषय पढेर आइटी क्षेत्रमा लागेका होइनन्। व्यवस्थापन संकायका विद्यार्थी भए पनि कम्प्युटरसँग लगाव थियो। एलएलसीपछि नै उनले शोखको रूपमा कम्प्युटर प्रोगामिङ सुरू गरेका थिए। कुनै सफ्टवेयर इन्जिनियरिङ वा आइटी कोर्स नगरे पनि उनी सन् २००१ यता आइटी क्षेत्रमै कार्यरत थिए। त्रिभुवन विश्वविद्यालयको एमबिएस २००१ व्याचका उनले करिब १० वर्ष विभिन्न आइटी कम्पनीहरूमा काम गरे।
२०११ मा फुडमाण्डु सुरू गर्दैगर्दा पनि उनले आफ्नो सफ्टवेयर डेभलपमेन्टको काम छोडेनन्। आफ्नै कम्पनी सुरू गरिसकेको तीन वर्षसम्म अर्थात् २०१४ सम्म उनले अर्को आइटी कम्पनीमा पनि काम गरिरहे।
‘म प्रोफेसनल्ली सफ्टवेयर डेभलपर हुँ। शैक्षिक डिग्री मैले व्यवस्थापन संकायमा लिएँ। यी दुवै क्षेत्रलाई मैले स्टार्टअपसँग जोडेँ,’ उनले भने।
यस्ता खालका समस्याहरू पनि रहेछन् र म त्यसको सोलुसन दिन्छु भन्ने सोचले फुडमान्डु जन्मिएको उनी बताउँछन्।
दिमागभित्र जन्मिएको फुडमान्डुलाई अब व्यवहारमा उतार्नु थियो।
कन्सेप्ट (अवधारणा) विल्कुलै नयाँ थियो। उनले यो व्यवसायको मोडल जस्तो हुनुपर्छ भनेर सोचेका थिए, ठ्याक्कै त्यस्तै संरचना बनाउन निकै चुनौतीपूर्ण थियो। रेस्टुरेण्टलाई कति पैसा तिर्ने, डेलिभरी शुल्क कति लिने, कति भौगोलिक दूरीसम्ममा डेलिभरी दिने भन्ने केही थाहा थिएन। दैनिक कति वटासम्म अर्डर हुँदा संस्था चल्नसक्ने हुन्छ भन्नेसम्मका केही कुरा थाहा थिएन। डेलिभरी कसरी गर्ने हो थाहा थिएन। यी सबै विषयमा आफैंले समाधान खोज्दै जानुपर्ने अवस्था थियो।
यी सबै चिजलाई एउटा ‘बिजनेस मोडल’का रूपमा बनाउनु पनि उत्तिकै चुनौतीपूर्ण थियो। नयाँ आउनेहरूका लागि यी सबै कुरा थाहा पाउन सजिलो छ। कति कमिसन राख्ने, डेलिभरी चार्ज कति राख्ने, कतिसम्म अर्डर लिने भन्ने सबै कुरा थाहा हुन्छ। तर, मनोहरले सुरू गर्दा यी सबै अनुमानका भरमा काम गर्नुपर्ने अवस्था थियो।
पछिल्ला वर्षहरूमा इ-कमर्सले राम्रो छवि बनाउँदै गएको छ। तर, एक दशकअघिसम्म यस्ता प्लेटफर्महरूलाई सेवाग्राहीले पत्याउने अवस्था नै थिएन। अनलाइनमार्फत खाना अर्डर गर्दा घरमै आइपुग्छ भनेर पत्याउने अवस्था उपभोक्तामा थिएन।
‘पहिलो कुरा हामीले ग्राहक पहिचान गर्नु थियो। दोस्रो, उनीहरूलाई अनलाइन सेवाबारे बुझाउनु थियो र तेस्रो, उनीहरूको विश्वास जित्नु थियो। त्यो एक खालको आफैंभित्रको अभियानजस्तो भयो। सँगसँगै हामीले रेस्टुरेण्टहरूलाई पनि कन्भिन्स गर्नुपर्ने थियो,’ सुरूआती चरणमा व्यहोर्नुपरेको समस्या उनले सुनाए, ‘रेन्टुरेन्टहरूले आफ्नो भाग खोस्न आएको हो कि भन्ने नजरले हामीलाई हेर्थे। हामीले रेन्टुरेन्टहरूलाई पनि हाम्रो सेवा के हो भन्ने बुझायौं, उनीहरूको प्रतिस्पर्धीका रूपमा नभई व्यापार विस्तार गर्न झन् सहयोगीका रूपमा नै फुडमाण्डु रहन्छ भनेर बुझायौं।’
सँगसँगै कर्मचारी राख्न पनि निकै पापड बेल्नुपर्यो। उनी भन्छन्, ‘अहिले पो फुड डेलिभरीमा जाने राइडरहरूलाई एउटा छुट्टै खालको पेसा हो भन्ने विस्तारै स्थापित हुँदै गएको छ। तर, त्यो बेला यस्तो प्रकृतिको काम गर्ने भन्ने छँदै थिएन। त्यो बेला काम गर्न आउनेलाई पनि यो कस्तो प्रकृतिको काम हो भन्ने बुझाउनै हम्मे-हम्मे।’
मनोहरका अनुसार अझै पनि नेपालमा कामलाई सम्मान मिल्दैन। अझ झोला बोकेर घर-घरमा खाना पुर्याउँदै हिँड्नु भनेको त तल्लोस्तरको जागिर भन्ने मानसिकता छ। अहिले पनि समाजमा त्यस्तो सोचाइ छ भने १० वर्षअघि यो काम सुरू गर्दैगर्दा कति अप्ठ्यारो थियो! भनी साध्य छैन।
कर्मचारी कसरी ल्याउने र उनीहरूलाई कसरी काममा लगाउने भन्ने चुनौती थियो। डेलिभरी ब्वाइ (राइडर)हरू आफू बस्ने क्षेत्रमा अर्डर लिएर जान लजाउँथे। उनीहरू आफू बस्ने क्षेत्रमा अर्डर नराख्नु नै भन्थे।
‘अनलाइनमार्फत खानेकुरा डेलिभरीको सेवा दिने व्यापारको अवधारणा बनाउने, उपभोक्तालाई शिक्षा दिने, कर्मचारी व्यवस्थापन गर्नेलगायतका चुनौती एकैपटक थिए। हामी बाटो खन्दै जाँदै गर्यौं,’ मनोहरले भने।
आर्थिक चुनौती उस्तै
मानव स्रोत व्यवस्थापन मात्र होइन, आर्थिक व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण थियो। उनले करिब ६ वर्ष अर्को कम्पनीमा काम गरेर फुडमाण्डुको लागि स्रोत जुटाए। अर्को कम्पनीमा काम गरेको पैसाले फुडमान्डु चलेको थियो। पछि एउटा कम्पनीले फन्डिङ गर्यो।
तपाईं आफूमा ‘कन्फिडेन्ट’ हुनुहुन्थेन कि पैसा जुटाउनकै लागि बाहिर काम गर्नुभयो त? हामीले अधिकारीसँग प्रश्न राख्यौं।
‘मसँग कन्फिडेन्स भएर मात्र त कम्पनी चल्दैन। व्यवहारतः आर्थिक पक्ष धान्नका लागि पनि मैले लामो समय बाहिर काम गरेँ। धेरै ठूलो लगानी नभए पनि हामी चाँडै नै व्यवसाय विस्तार गर्छौं र नामी कम्पनी बन्छौं भन्ने आश थियो। तर त्यसो भएन। कम्पनी चाँडै नै नाफामा जान्छ भन्ने सोचाइ गलत सावित भयो,’ उनले वास्तविकता खुलाए।
नेपालजस्तो ठाउँमा यो खालको व्यवसाय फस्टाउन समय लाग्नु स्वाभाविक हो। नयाँ सोच र नयाँ काम गर्न थालेको भनेपछि परिवार र साथीभाइले पनि उनलाई निकै हौसला दिए। मनोबल बढाए। तर, लामो समयसम्म पनि त्यसले दिने नाफा नदेखेपछि परिवार र नजिकका साथीभाइले कम्पनीको काम छोडेर पुरानै पेसामा फर्किन पनि सुझाव दिए। अझै कति लगानी गर्नुपर्ने हो, अझै कति लामो समयसम्म नाफा नदेखिने हो भन्ने चिन्ताका अघि उनले हार भने मानेनन्।
आर्थिक रूपमा निकै अप्ठ्यारो परिस्थिति देखिँदा पनि उनले कम्पनी बन्द गर्ने सोच कहिल्यै पलाउन दिएनन्। त्यसको आधार उनले बनाएको ‘बिजनेस मोडल’ले काम गरेको थियो। ‘मैले सुरू गरेको व्यवसाय स्थापित हुन समय लागेको हो, तर यो स्थापित भएपछि भविष्य अँध्यारो छैन’ भन्ने उनले बुझिसकेका थिए।
०००
व्यवसायको आकार बढिरहेको थियो। अनलाइनबाट हुने अर्डर दैनिकजसो बढिरहेका थिए। केवल नाफा कमाउन पो सकिएको थिएन। अरूले जे भने पनि उनले हौसला गुमाएनन्।
सोचेजस्तो निश्चित समयभित्र ‘बिजनेस ग्रोथ’ नदेखिएको हो। तर, विस्तारै यसले लय समातिसकेको थियो। त्यसको अनुभूति मनोहरले गरिसकेका थिए। कम्पनी सुरूआतदेखि नै सञ्चालन घाटा (अपरेसनल लस)को अवस्थामा थिएन। केवल नाफामात्र थोरै थियो। जति कमाइ थियो, त्यसले व्यवसाय धान्न ठिक्क र धौ-धौको अवस्था थियो।
यो प्रकृतिको व्यवसाय बढाउनका लागि जनशक्ति पनि बढाउँदै जानुपर्छ। एक जना मान्छेले दिनमा निश्चित क्षमतामा मात्रै काम गर्न सक्छ। एक जना राइडरले दिनभरिमा पाँच वटासम्म अर्डर डेलिभर गर्न सक्छ। राइडरको संख्या १०० जना हुँदा ५०० वटा अर्डर डेलिभर हुन्छ। यसले एकातर्फ रोजगारी सिर्जना गर्छ भने अर्कोतर्फ कम्पनीको व्यवसाय विस्तार गर्न पनि सघाउँछ। बढी कर्मचारी हुँदा त्यहीअनुसारको खर्च पनि बढ्छ, तर त्यो खर्च धान्नसक्ने खालको बिजनेस मोडल उनले बनाएका थिए।
‘सुरूआतमा मार्केटिङ र प्रविधिमा खर्च धेरै गर्नुपर्यो। एक जना राइडर थपिँदा एउटा मोटरसाइकल थपिन्छ। ल्यापटप, टेबल, कुर्सीलगायतका संरचना पनि बढ्दै गए। यसको अर्थ पुँजीगत लगानी बढ्यो। पुँजीगत लगानी बढ्दै गएको र सञ्चालन खर्च घाटामा नगएको अवस्थामा मलाई विश्वास थियो, एक दिन व्यवसायले गति लिन्छ र नाफा पनि दिन्छ,’ उनले आफ्नो अनुभव सुनाए।
स्वस्थ र व्यावसायिक प्रतिस्पर्धामा जोड
मनोहर इ-कमर्सभित्रको एउटा क्षेत्र फुड डेलिभरी व्यवसायको पायोनियर हुन्। उनले तयार पारेको रोडम्याप पछ्याउँदै खुलेका कम्पनीहरू अहिले उनकै प्रतिस्पर्धी बनेका छन्। उनी प्रतिस्पर्धालाई स्वाभाविक मान्छन्। तर, प्रतिस्पर्धा स्वस्थ र व्यावसायिक हुनुपर्ने उनको तर्क छ।
‘प्रतिस्पर्धा भनेको हरेक व्यवसायमा हुन्छ। यसलाई हामीले रोक्न/छेक्न मिल्ने कुरा भएन। तर, हाम्रो चासो भनेको स्वस्थ र व्यावसायिक खालको प्रतिस्पर्धा हुनुपर्यो। स्वस्थ र व्यावसायिक खालको प्रतिस्पर्धा हुनु भनेको इ-कमर्सलाई प्रवर्द्धन गर्नु हो भन्ने ठान्छु,’ उनी भन्छन्, ‘तर, पछिल्लो समय अस्वस्थ खालको प्रतिस्पर्धा मौलाउँदै गएको छ। जुन दुःखद् हो।’
नवप्रवर्तन तथा नयाँ खालको व्यवसायलाई सरकारी निकायले हेर्ने नजर र सरकारी निकायसँग काम गर्दाको अनुभवबारे प्रश्नमा उनको जवाफ सहज तर निकै अर्थपूर्ण थियो।
‘समस्या विगतमा मात्र होइन अहिले पनि आउँछ। तर, हामीले गरिरहेको व्यवसाय वा उद्यमशीलता नेपालको मौजुदा कानुनी व्यवस्थाको प्रतिकूल छैन भने समस्या हुँदैन। अनैतिक र असामाजिक कार्य हामीले गरेका होइनौं। यसले समाजमा कुनै अप्ठ्यारो सिर्जना गर्दैन र असल नियतले काम गरिएको छ भने बाटाहरू विस्तारै खुल्दै जान्छन्। भएका नीति, नियम, कानुनभित्र आफूलाई अनुकूल बनाउने हो।’
उनका अनुसार इ-कमर्सका लागि भनेर अहिले पनि हाम्रा कानुनहरू पूर्ण छैनन्। तर, हामीले कानुन अनुकूलको दायित्व निर्वाह गर्नुपर्छ। समाज र सामाजिक मूल्यमान्यतालाई असर पार्ने काम गर्नु भएन। राम्रो नियतले काम गर्दा नियम कानुनले रोक्ने भन्ने हुँदैन। कुनै उद्यमीले राम्रो काम गरिरहेको छ र त्यसलाई कानुनको परिधिभित्र ल्याउनु छ भने सरकारले पनि त्यसमा सकारात्मक भूमिका खेल्नुपर्छ। व्यवसाय नै नगर भन्ने होइन कि त्यसलाई नियमन कसरी गर्ने भनेर सरकारी निकायले सोच्नुपर्ने उनको भनाइ छ।
प्रशासनिक काममा हुने ढिलाइजस्ता झिना-मसिना समस्या उनले भोगे। तर, यस्तो व्यवसाय गर्न पाइँदैन भनेर कहिल्यै अप्ठ्यारो भएन।
व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पुँजी जुटाउन भने निकै कठिन रहेको मनोहर सुनाउँछन्। बैंक, वित्तीय संस्थाले ऋण दिँदा धितो खोज्ने हुँदा इ-कमर्स व्यवसायका लागि यसले बढी अप्ठ्यारो पार्छ।
‘एक त व्यवसाय नाफामा गइसकेको छैन। अरू उद्योग व्यवसायको जस्तो भौतिक संरचना र मेसिन देखाएर त्यसलाई धितोका रूपमा सकार्न सक्ने अवस्था छैन। हामीसँग भौतिक सम्पत्ति भनेको नै यी कम्प्युटर र टेबल कुर्सी हुन्। यी धितो राखेर त ऋण पाइँदैन,’ उनको गुनासो छ।
यो समस्या विगतमा मात्र होइन अहिले पनि छ। यसकारण धेरैजसो नवप्रवर्तनकारी व्यवसायहरूले अरू खालका व्यवसाय पनि गर्दै आएको उनी बताउँछन्।
अहिले फुडमाण्डुलाई निजी क्षेत्रको एउटा कम्पनीले लगानी गरिरहेको छ। व्यवसाय विस्तार भएसँगै पुँजी पनि बढाउनुपर्ने हुँदा थप लगानी खोज्नुपर्ने उनको भनाइ छ।
०००
नेपालको हकमा अनलाइनमार्फत फुड डेलिभरी गर्ने व्यवसायको सुरूआत फुडमाण्डुले गर्यो। तर, यो कामलाई नाफामुखी व्यवसायका रूपमा स्थापित गर्न त्यति सजिलो भने थिएन।
‘हामीले त प्लेटफर्म मात्रै बनायौं। अब रेस्टुरेण्टहरूलाई यसमा आबद्ध गराउनु, उपभोक्ताका मागअनुसारको सेवा उपलब्ध गराउनु र सँगसँगै व्यवसाय विस्तार गर्दै लैजानुपर्ने थियो। प्रतिस्पर्धी पनि बन्नुपर्यो,’ मनोहरले भने।
आफूहरूले दिने सेवामै नयाँपन (इनोभेसन) भएको उनी बताउँछन्। ‘हाम्रो अनुभवले हामीलाई कुन ठाउँमा कसरी काम गर्ने र सेवालाई चुस्त दुरुस्त बनाउने भनेर सिकाएको छ। त्यो अनुभव नै हाम्रो फरकपन पनि हो,’ उनी भन्छन्, ‘यस्तै प्रकृतिको सेवा दिने कम्पनीहरू अहिले थुप्रै छन्। उनीहरूले हामीबाट केही कुरा सिकेका हुन सक्छन्। तर, हामीले जे जति सिक्यौं त्यो काम गराइबाट नै सिक्यौं। हाम्रा कमी कमजोरी कहाँनेर छन् र त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर आफैं विश्लेषण गर्याैं।’
यो व्यवसायमा एकचोटी बाटो खनेर मात्र नपुग्ने मनोहरको बुझाइ छ। त्यसलाई मर्मतसम्भार गर्ने, विस्तार गर्ने काम पनि सँगसँगै गरिरहेको उनी बताउँछन्। ‘हामी बाटो बनाउने मान्छे हौं, बाटो पछ्याउने होइन। तर, हामीले बनाएको बाटोमा अरू पनि हिँडे भनेर मन सानो पार्ने भन्ने हुँदैन,’ उनी भन्छन्।
कसले उत्कृष्ट सेवा दियो र त्यसको दिगोपन कति हो भन्ने कुराले ऊ बजारमा कति प्रतिस्पर्धी छ भन्ने कुरा निर्धारण गर्ने उनको बुझाइ छ।
हेर्ने दृष्टिकोण फेरियो
मनोहरका अनुसार यो व्यवसायप्रतिको सोचाइ विगतको तुलनामा अहिले निकै फरक भइसकेको छ। विगतमा फुड डेलिभरीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो, अहिले एउटा छुट्टै पेसाको रूपमा स्थापित भइसकेको छ। यस्तो प्रकृतिको पेसामा संलग्नहरूको संख्या पनि दिनानुदिन बढ्दो छ। यो फुडमाण्डुको हकमा मात्र होइन, इ-कमर्सका अरू क्षेत्रहरूले पनि यही ‘बिजनेस मोडल’ अपनाएका छन्।
सुरूआतमा रेस्टुरेण्टहरूलाई मनाउन हम्मेहम्मे परेको अनुभव उनीसँग छ। रेस्टुरेण्टहरूले अनलाइनबाट व्यापार गर्दा आफ्नो व्यवसाय गुम्छ भन्ने ठानेका थिए। उनीहरूलाई बुझाउने काम पनि फुडमाण्डुले गरेका उनी बताउँछन्। ‘हाम्रो भाग खान आए कि भन्ने खालको सोचाइ थियो। तर, अहिले उनीहरूले पनि आफ्नो व्यवसाय विस्तारमा सहयोग नै पुग्ने रहेछ भन्ने बुझ्न थालेका छन्,’ उनले भने।
उपभोक्तामा पनि यो लागू हुन्छ। अनलाइनमार्फत् के साँच्चिकै खानेकुरा घरसम्मै आइपुग्छ त? भन्ने सोचाइ थियो। आम मान्छेले यो कसरी सम्भव छ होला र भनेर सोच्थे। अर्डर गरेको कुरा आइपुगेपछि साँच्चिकै पो आउने रहेछ भन्थे। यद्यपि, इ-कमर्स क्षेत्रले अहिले पनि उपभोक्ताको विश्वास भने जितिसकेको छैन।
उपभोक्ताका लागि विश्वास महत्त्वपूर्ण कुरा हो। अनलाइनबाट मगाएका चिजवस्तु कमसल खालका हुन्छन्। अथवा गुणस्तरीय हुँदैनन् भन्ने सोचाइ मानिसहरूमा छ। त्यसलाई चिर्नका लागि पनि गुणस्तरीय र भरपर्दो सेवा दिनु यस्तो प्रकृतिको व्यवसायको पहिलो कर्तव्य हुन जान्छ। साँच्चिकै व्यवसाय गर्ने कम्पनीहरूको भीडमा केही कम्पनीले यो व्यवसायलाई बद्नाम गर्न पनि भूमिका खेलेका छन्। सामाजिक सञ्जालमा एउटा खालको सूचना राख्ने र उपभोक्तालाई भ्रमित बनाएर अनलाइन व्यवसायप्रतिको विश्वास तोड्न सघाउने खालका गतिविधिहरू पनि छन्। यसले वास्तविक व्यवसायीलाई पनि असर गर्छ।
सेवाग्राहीले दिने ‘फिडब्याक’
हरेक व्यवसायमा सेवाग्राहीबाट आउने ‘फिडब्याक’ (प्रतिक्रिया)को महत्त्व रहन्छ। प्रतिक्रिया सकारात्मक र नकारात्मक दुवै किसिमका आउँछन्। सेवाग्राहीको प्रतिक्रियाले आफ्नो कमजोरी पत्ता लगाउन र त्यसलाई सुधार गर्ने अवसर व्यवसायीलाई हुन्छ। फुडमाण्डुले पनि उपभोक्ताको प्रतिक्रियालाई त्यही रूपमा लिएको छ।
‘उपभोक्ताले हाम्रा कमजोरी पत्ता लगाइदिँदा हामी त्यसलाई सुधार्छौं। प्रतिक्रियाले हामीलाई कहाँ सही र कहाँ गलत भइरहेको छ भनेर थाहा पाउन सजिलो हुन्छ। र, व्यवसायको रणनीति पनि त्यहीअनुसार बनाइन्छ,’ फुडमाण्डुका सिइओ मनोहर भन्छन्।
नवप्रवर्तनकारी उद्योग व्यवसायलाई सरकारले उपलब्ध गराउने करमा छुटबाहेक फुडमाण्डुले सरकारी निकायले अरू खालका सेवा सुविधा लिएको छैन। सरकारी निकायले फन्डिङ गर्ने, अनुदान दिने वा अरू खालका सेवा सुविधा दिने हो भने व्यवसाय गर्न सजिलो हुने उनको बुझाइ छ। सानो लगानीबाट कसैले व्यवसाय सुरू गरेको छ भने लगानी वृद्धिका लागि केही सहज वातावरण बन्ने उनी बताउँछन्। जसले नवउद्यमीलाई प्रेरणासमेत मिल्ने उनले बताए।
व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना
मनोहरले व्यवसायमा विस्तारलाई नै नाफाका रूपमा लिएका छन्। पाँच वर्षअघि जहाँ थियो, अहिले फुडमाण्डुको दायरा निकै गुणा बढेको छ। व्यवसायको गति बढिरहेको छ। यही गतिलाई कायम राख्ने र अझ यसलाई थप बढाउनेतिर उनको ध्यान छ।
उनी भन्छन्, ‘कम्पनीले खुद नाफा देखाउन नसके पनि हामीले बनाएको बजारलाई नै नाफा मानेका छौं।’
फुडमाण्डुले व्यवसाय विस्तार सँगसँगै रोजगारी पनि बढाउँदै लगेको छ। १० वर्षअघि चार जनाबाट सुरू भएको व्यवसायमा अहिले २५० जनाभन्दा बढी श्रमशक्ति आबद्ध छन्। अबको पाँच वर्षमा व्यवसायको दायरा र रोजगारी १० गुणाले बढाउने योजनामा फुडमाण्डु छ।
‘सेवामुखी व्यवसाय हो। समय बचाएर त्यसलाई थप अरू उत्पादनशील क्षेत्रमा लगाउन सकिन्छ। अहिलेका उपभोक्ताले त्यो कुरा बुझेका छन्,’ मनोहरले भने।
अहिले इ-कमर्स सहर केन्द्रित मात्र होइन, काठमाडौं उपत्यका केन्द्रित छ। त्यसलाई तोड्न फुडमाण्डुले अहिले पोखरामा सेवा दिन थालिसकेको छ। अरू मुख्य सहरहरूमा पनि जाने तयारी गरिरहेको छ।
फुडमाण्डुका लागि अर्को चुनौती राम्रा रेस्टुरेण्टबाट टाढा-टाढासम्मको अर्डर लिएर उपभोक्तालाई सेवा दिनु हो। भक्तपुरमा भएको ग्राहकले दरबारमार्गको रेस्टुरेण्टबाट खाना अर्डर गर्छन्। टाढाका ग्राहकलाई सेवा दिँदा त्यसको मूल्य महँगो पर्ने मात्र होइन, खानाको गुणस्तर पनि बिग्रिसक्छ।
'आफ्नो हाकिम आफैं बन्ने' सोच्नु गलत
पछिल्लो पुस्तामा ‘जागिर गर्नु नराम्रो र स्वउद्यममा लाग्नु भनेको एकदमै राम्रो’ भन्ने सोच बढी देखिन थालेको छ। यस्तो सोच राम्रो नभएको मनोहर बताउँछन्। ‘यो वास्तवमा सही होइन। मैले सुरूमा जागिर गरेँ र यो कम्पनी चलाएको चार वर्षसम्म पनि मैले अर्को कम्पनीमा जागिर गरिरहेको थिएँ। नवप्रवर्तनका विषयहरू जागिर गर्दागर्दै पनि सुरू गर्न सकिन्छ,’ उनी भन्छन्, ‘आफैंले कुनै व्यवसाय सुरू गर्दा मालिक र हाकिम आफैं भइन्छ भन्ने सोच छ, त्यो गलत हो।’
आफ्नो कम्पनी हुँदा ‘बी योर ओन बोस (आफ्नो हाकिम आफैं बन)’ भन्ने बुझाइ राम्रो नहुने उनको भनाइ छ। ‘यहाँ धेरैवटा बोस हुन्छन्। उपभोक्ता बोस हो। कर्मचारी बोस हो। सप्लायर बोस हो। मानसिक रूपमा अब आफू बोस बन्ने होइन कि आफूभन्दा माथि अब झन् बढी बोस थपिनेवाला छन् भन्ने बुझाइ राखेर आउनुपर्छ। धेरै चिजलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ उनले थप प्रस्ट्याए।
उद्यमशीलतामा आउन चाहनेहरूका लागि अर्को महत्त्वपूर्ण विषय हुन् धैर्यता, लगाव र नयाँपन। धैर्यता भएन भने सफल भइँदैन। नयाँ खालको सोच लिएर आउने हो भने धैर्यता अझ बढी चाहिन्छ। किनभने समाजले त्यसलाई स्वीकार्नुपर्यो। समाजले स्वीकार गर्नसक्ने अवस्थासम्म पुर्याउनका लागि समय लाग्छ। आजको भोलि नै त्यो सम्भव हुँदैन।
मनोहर भन्छन्, ‘दिमागमा त जे चिज पनि सुरू गर्न पाए हुन्थ्यो भन्ने आउँछ। मलाई पनि कहिले क्याटरिङ पनि सुरू गरौं, ग्रोसरी पनि सुरू गरौं अथवा रेस्टुरेण्ट नै आफैं खोलौं भन्ने खालको सोच आउँछ। तर, म एउटा मात्रै क्षेत्रमा केन्द्रित भएर त्यसमा नै शतप्रतिशत लगाव लगाउने हो।’
व्यवसाय विस्तार गर्नु नराम्रो होइन। तर, एउटा क्षेत्रलाई स्थापित गरेर अर्को क्षेत्रमा लाग्नुपर्छ भन्ने उनको धारणा छ। व्यवसायमा देखिने नयाँपनले पनि बजारमा फरक पहिचान बनाउन सहयोग गर्ने उनी बताउँछन्।
फुडमाण्डुसँगै अरू व्यवसाय
मनोहरले ग्रोसरी व्यवसाय पनि सुरू गर्न लागेका छन्। खानाकै वरिपरि रहेर अरू खालका व्यवसायहरू सुरू गर्ने उनको योजना छ।
उनी सफलताका लागि पहिलो आधार मिहिनेतलाई मान्छन्। तर, कहिलेकाहीँ भाग्यले साथ दिनुपर्ने हुन्छ। त्यसैले भाग्य र मिहिनेत दुवैलाई पछ्याउने उनी बताउँछन्।
कम्पनीको सुरूआतको केही समयसम्म मनोहर आफैंले सबैजसो काम गरे। त्यो बेला ग्राहकले दिने सकारात्मक/नकारात्मक दुवै खालका प्रतिक्रियाको अनुभव लिए।
एक जना ग्राहकलाई उनले अर्डर गरेकोभन्दा फरक सामान परेपछि फोन गरेको र साहुलाई भन्नू भन्दै धम्की दिएको उनी सम्झन्छन्। त्यो फोन मनोहर आफैंले उठाएका थिए। उताबाट चर्को स्वर र केही गाली पनि गरे। उनले जसोतसो सम्झाइरहेका थिए। अन्तिममा ती व्यक्तिले फुडमाण्डुको साहुलाई नै भनेर जागिर खाइदिने धम्कीसम्म दिए। तर, उनले आफू फुडमाण्डुको मालिक भनेर परिचय खुलाएनन्। कस्टमर सर्भिसमा काम गर्ने कर्मचारी जसरी नै कुरा गरे।
कोभिड-१९ महामारीको समयमा व्यवसाय सञ्चालन गर्न निकै गाह्रो भयो। ‘राइडर’हरूलाई प्रहरीले पक्रिए। मनोहर आफैं गएर उनीहरूलाई छुटाए। त्यो बेला माग त थियो, तर रेस्टुरेण्टहरू बन्द भएका कारण डेलिभरी गर्न सकिएको थिएन।
‘कोभिडले इ-कमर्सलाई बढावा पनि दिएको छ। अनलाइन सेवा बढेको छ। जसले गर्दा विस्तारै व्यवसाय ‘रिभाइभ’ हुँदैछ,’ उनले भने।
फुडमाण्डु ‘राइडर’को अनुभव
फुडमाण्डुमा स्थापनाकालदेखि नै ‘राइडर’को काम गरेका पल्टुदास चौधरी अहिले राइडर सुपरभाइजर छन्। बर्दियाका चौधरीले फुडमाण्डुमा करिब पाँच वर्ष राइडरको रूपमा काम गरे। राइडरहरूले विगतमा भोग्ने समस्या र अहिलेको समस्यामा खासै अन्तर नभएको उनी बताउँछन्। यद्यपि, सोचाइको तहमा भने निक्कै फरकपन आएको उनी महसुस गर्छन्।
‘काम सानो ठूलो हुँदैन भनेर नै यो काम गर्न थालिएको हो। पहिले घर खोज्दै जानुपर्थ्यो, अहिले गुगल म्यापले सजिलो बनाएको छ,’ चौधरीले भने।
कर्मचारीहरूको ड्युटी सुपरभाइजर विपिन गुरुङलाई पनि यो पेसाप्रति मान्छेको बुझाइ विस्तारै परिवर्तन भएको र एक सम्मानित पेसा हो भन्ने सोचाइ स्थापित हुँदै गएको भान हुन्छ।
‘पहिले नयाँ काम गरेको भनेर ढाडस दिने पनि भेटिन्थे भने फरक नजरले हेर्नेहरू पनि भेटिन्थे। जाबो फुड डेलिभरी गर्ने मान्छे त हो नि भन्ने खालको सोचाइ राख्नेहरू थिए, अहिले पनि छन्। राइडरहरूले अहिले पनि दुःखेसो पोख्छन्। सेवाग्राहीले नराम्रो बोलेको भनेर सुनाउँछन्,’ उनले भने।
गुरूङका अनुसार कतिपय राइडर लजाउने भएकाले चिनेजानेको वा साथीभाइकोमा अर्डर लिएर जाँदा अप्ठ्यारो मान्छन्। तर, कोही भने ‘म त काम गर्न आएको हो। के फरक पर्छ र!’ भन्ने सोचाइ राखेर आउँछन्।
फुडमाण्डुमा पाँच/छ वर्षदेखि काम गरिरहेका राइडर पनि छन्। कतिपयले एक/दुई दिनमै काम छोड्छन्।
फुडमाण्डुले राइडरहरूलाई मासिक तलब दिँदै आएको छ। उनीहरूलाई कामका आधारमा साप्ताहिकरूपमा प्रोत्साहन भत्तासमेत दिइन्छ। यहाँ मासिक ५० देखि ७५ हजार रूपैयाँसम्म कमाउने राइडर रहेको सुपरभाइजर गुरुङ बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।