काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले एन्फिल्डको मैदानमा खेलेर उपाधि जित्नु र त्यसको खुशी दर्शकसँगै मनाउन नपाउनु धेरै असामान्य हुने बताएका छन्।
कोरोना भाइरस (कोभिड १९) को माहामारी नहुँदो हो त लिभरपुलले धेरै अघि प्रिमियर लिग उपाधि उचालिसकेको हुने थियो। शीर्षमा रहेको लिभरपुलले बाँकी ९ खेलमा २ खेलमात्र जितेमा उपाधि जित्ने थियो। जुन सन् १९९० पछिको लिभरपुलको पहिलो प्रिमियर लिग उपाधि हुनेछ।
मार्च १३ बाट रोकिएको लिग जुनमा सुरु गर्ने गरी तयारी भइरहेको छ। अहिले अभ्यासमा सामेल भइरहेका खेलाडीहरुको स्वास्थ्य परीक्षण भइरहेको छ। जसमा केही खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएकाले पनि समस्या बढेको छ। यस्तो अवस्थामा दर्शकसहितको खेल असम्भव नै छ।
तर हेन्डरसन भने दर्शक हुँदा र नहुँदाको फरक के हुन्छ त्यो आफूहरुले राम्ररी बुझेको बताइरहेका छन्। ‘हामीले उपाधि जित्दा दर्शकसँगै खुशी मनाउन पाएनौँ भने त्यो निकै नै अस्वाभाविक देखिने छ। तर अहिले नै खेल जितिसकेको भने होइन अझै केही कामहरु गर्न बाँकी नै छ, उत्कृष्ट खेल देखाउन बाँकी छ’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।