काठमाडौं- जर्मन बुन्डेस लिगामा बायर्न म्युनिक लगातार आठौँ उपाधिको नजिक पुगेको छ। मंगलबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डोर्टमुन्डलाई १-० ले हराएसँगै बायर्नको उपाधि लगभग पक्का भएको हो। अब ६ खेल बाँकी रहँदा बायर्न ७ अंकले अघि भइसकेको छ।
खेल प्रतिस्पर्धात्मक देखिए पनि गोलका अवसरको सदुपयोग हुन सकिरहेको थिएन। बायर्नका लागि पहिलो हाफको अन्तिमतिर २० यार्ड परबाट जोसुवा किमिचले उत्कृष्ट चिपसट हानेर गोलमा परिणत गरिदिएका थिए। जुन गोल जितका लागि पर्याप्त भयो।
खेलअघि बायर्नका लेवान्डोस्की र डोर्टमुन्डका हल्याण्डमा धेरैको नजर थियो। हुन पनि घरेलु प्रतियोगिताहरुमा उनीहरुले यो वर्ष ३५ खेलमा ४१ गोल गरीसकेका छन्। जुन युरोपमा अहिलेको सर्वाधिक व्यक्तिगत गोल अन्तर्गत हो। मंगलबार राति हल्याण्ड चोटका कारण बाहिरिनुअघि उनले केही अवसर खेल फाले। लेवान्डास्कीको पनि गोलको अवसरको सदुपयोग हुन सकेन।
डोर्टमुन्डले २०१०–११ र २०११–१२ को सिजन लगातार बुन्डेस लिगा उपाधि जितेपछि अहिलेसम्म बायर्नले नै जितिरहेको छ। अब बाँकी रहेका ६ खेलमा ४ खेल जितेपछि नै उपाधि बायर्नको हातमा हुनेछ।
खेलपछि डोर्टमुन्डका प्रशिक्षक लुसियन फाब्रेले खेलअसाध्यै कठिन भएको प्रतिक्रिया दिएका थिए। यस्तै बायर्नका प्रशिक्षक हान्सी फ्लिकले आफूहरुले खेल जितेर ठूलो फरक पार्ने चाहना राखेको र नतिजा त्यहीअनुसार भएको बताए।
कोरोना भाइरस (कोभिड १९) को माहामारीबाट निस्किएर युरोपका ठूला लिगमा सबैभन्दा पहिले बुन्डेस लिगा नै सुरु भएको हो। जहाँ बन्द रंगशालामा स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।