काठमाडौं- जर्मनीले संकटको समयबाट बाहिर निस्किएर खेल गराउन सकेकाले अहिले विश्व फुटबल समर्थकको ध्यान बुन्डेस लिगामा छ। बन्द रंगशालामा दर्शकबिनाको खेल केही निरश लागिरहे पनि टेलिभिजनको पर्दामा प्रत्यक्ष खेल ‘मिस’ गरिरहेका दर्शकहरु फरक स्वादमा छन्।
बुन्डेस लिगा अन्तर्गत नै नेपाली समयअनुसार मंगलबार राति सवा १० बजे शीर्ष स्थानको बायर्न म्युनिक र दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमुन्डबीच खेल हुँदै छ। सामान्य अवस्थामा नै पनि यी दुई क्लबबीचको खेल विश्व फुटबलमा रोचक हुने गर्थ्यो नै अझ अहिले अरु ठूला लिग रोकिएको समयमा यसको महत्व अझ बढेको छ।
धेरैले बायर्न र डोर्टमुन्डको खेल लिग उपाधि कसको भन्ने निक्योल गर्ने खेल भएको बताइरहेका छन्। तर चार अंकको फरकलाई डोर्टमुन्डले कम गर्ने अवसर पाउने भए पनि सहज भने छैन।
बायर्न म्युनिकका मुख्य प्रशिक्षक हान्सी फ्लिक पनि दोस्रो स्थानमा रहेको बोरुसिया डोर्टमुन्डसँगको खेलले लिग उपाधिमा फरक नपार्ने बताउँछन्। ‘यो खेलको नतिजाले यहि खेलबाहेक अरुमा फरक पार्दैन’ उनले भनेका छन्।
दुई महिना रोकिएपछि मे १६ मा सुरु भएको लिगमा अहिले बायर्न म्युनिक र बोरुसिया डोर्टमुन्ड दुवै अपराजित छन्। संकटको समयमा स्वास्थ्य सुरक्षा अपनाएर गरिएको खेल अहिलेसम्म सफल पनि देखिन्छ।
शनिबार वोल्फ्सवर्गसँगको खेलमा घाइते भएका जर्मनीका सेन्टर ब्याक माट ह्युमेल्स बायर्न म्युनिकविरुद्धको खेलमा ठीक हुने विश्वासमा डोर्टमुन्ड रहेको छ। यदि मंगलबार बायर्नलाई हराउन सकेमा अंक दुरी एक मात्र हुनेछ। जसले लिगको आउँदो संरचनामा गल्ती नगरेमा उपाधि दाबेदारी बलियो हुनेछ।
आउँदो सात खेल बायर्न म्युनिक र बोरुसिया डोर्टमुन्ड दुवैका लागि उत्तिकै महत्वपूर्ण रहे पनि दोस्रोबाट शीर्षमा पुग्न डोर्टमुन्डले आज बायर्नलाई हराउनुको विकल्प देखिँदैन। आजको खेल आफ्नै मैदानमा भए पनि बोरुसियाले उत्साहित दर्शकको साथ मैदानबाट भने पाउने छैन। ‘एल्लो वाल’ का नामले चिनिने डोर्टमुन्डका दर्शक टिमका लागि हरेक समय विशेष बनिरहेको थियो।
बोरुसिया डोर्टमुन्डसँगको पछिल्लो १५ खेलमा ९ खेल बायर्न म्युनिकले जितेको छ। तर विगतलाई बिर्साउने गरी डोर्टमुन्डको तीब्र अट्याक अहिले विशेष बलियो देखिने गरेको छ। जसले बायर्नलाई लगातार आठौँ उपाधि जित्नबाट रोक्न सक्नेछ। जसमा आज बार्यनका रोबर्ट लेवान्डोस्की चल्नेछन् या डोर्टमुन्डका एर्लिङ हल्याण्ड चल्नेछन् भन्ने प्रतीक्षा बाँकी छ।
गएको नोभेम्बरमा बायर्नले आफ्नो मैदानमा डोर्टमुन्डलाई ४–० ले हराएपछि अहिलेसम्म धेरै कुरा फेरिइसकेको छ। विशेष गरी जनवरीदेखि टिमका हल्याण्ड जोडिएपछि डोर्टमुन्डको उत्साह दुगुना भएको देखिन्छ। आफ्नो शैली र टिम फेरिएको छ भनेर प्रमाणित गर्ने यो जति राम्रो अवसर डोर्टमुन्डले अर्को पाउने पनि छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।