काठमाडौं- फ्रेन्च लिग वान क्लब लायोनका अध्यक्ष जिआन मिकेल ओलासले लिग स्थगित गर्ने निर्णयमा पुनर्विचार गर्न सम्बद्धहरुलाई आग्रह गरेका छन्। लिग सकाउने निर्णय छिटो लिइएको भन्दै त्यसमा पुनर्विचार गर्न उनले आग्रह गरेका हुन्।
कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण अप्रिल २८ मा नै लिग वान र लिग टू स्थगित भएको घोषणा गरिएको थियो। जसमा शीर्ष स्थानमा रहेको आधारमा लिग वान विजेता पिएसजी हुने घोषणा गरिएको थियो।
अहिले लायोनका अध्यक्ष मिकेलले फ्रान्सका प्रधानमन्त्री, खेलकुद मन्त्रीसमेतलाई सम्बोधन गर्दै लेखेको छन्– ‘फ्रेन्च फुटबलले आर्थिक र सामाजिक संकट भोगिरहेको छ।’
लिग सकिएको घोषणाका कारण लिग तालिकाको सातौँ स्थानमा रहेको लायोनले आउँदो सिजनको युरोपियन प्रतिस्पर्धाका खेलहरु गुमाउने भएको छ।
युरोपका ठूला पाँच लिगहरुमा सकिएको घोषणा लिग वानमा मात्र भएको हो। जर्मन बुन्डेस लिगा अहिले बन्द रंगशालामा चलिरहेको छ भने स्पेन, इटाली र इंग्ल्याण्डले जुनमा खेल गर्न सक्ने गरी अभ्याससहित तयारी गरिरहेको छ। यसका अलावा नेदरल्याण्ड्स र बेल्जियममा पनि लिग सकिएको घोषणा गरिएको थियो।
‘बुन्डेस लिगा १६ मेदेखि सुरु नै भइसक्यो, स्पेनमा ८ जुनबाट खेल गर्न अनुमति छ, इटाली, रसिया र पोर्चुगलले समेत लिग गर्ने नै योजना बनाइरहेका छन्। प्राय टिमहरु अभ्यासमा छन्। यस्तोमा फ्रान्समा मात्र लिग सकाउनुपर्ने जरुरी के भयो?’ उनले प्रश्न गरेका छन्।
संकटको समयबाट बढिरहेको फुटबलमा यस्ता निर्णयले खेलकुदलाई अझ कमजोर पार्ने उनको तर्क छ। आउँदो जुन २ बाट फ्रान्समा दैनिक जीवन सहज बनाउने गरी घोषणाहरु पनि हुँदै छन्।
‘२ जुनमा नै फुटबलमा भएको अन्यायमाथि पनि विचार गरिनेछ भन्ने लागेको छ। हरेक क्षेत्रमा स्वास्थ्य सुरक्षाका उपायहरु अपनायर काम गर्न सकिन्छ भने फुटबलमा किन सकिँदैन? त्यसैले बीचमा रोकिएको फुटबल लिग खेलेर नै किन नसकाउने त?’ उनले भने।
गएको हप्ता नै लायोन र रेलिगेसनमा रहेका दुई क्लब एमियन्स र टुलोजले लिग सकाउने निर्णयविरुद्ध अपिल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।