काठमाडौं- इंग्लिस प्रिमियर लिगका आठ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। टिमहरु सामूहिक अभ्यासमा फर्किंदै गर्दा गरिएको परीक्षणमा आठ जनामा संक्रमण देखिएको हो।
जसमा पछिल्लो संक्रमण ब्रोनमाउथका एक खेलाडीमा देखिएको छ। उनको नाम गोप्य राखिए पनि उनी अहिले सेल्फ आइसोलेसनमा रहेको बताइएको छ। प्राय संक्रमण हुनेको नाम गोप्य राखिएको छ भने केही खेलाडी आफैले पनि नाम बाहिर ल्याएका छन्।
गएको हप्ताको मंगलबार, बिहीबार र शुक्रबार खेलाडीहरुको परीक्षण गरिएको थियो। ९९६ जना खेलाडीका साथै क्लबका प्रशिक्षक र पदाधिकारी सबैको परीक्षण भएको हो। जसमा कोरोना देखिएका खेलाडी र पदाधिकारी अहिले सात दिनको आइसोलेसनमा छन्।
गएको मंगलबारदेखि नै क्लबहरुले सामूहिक अभ्यास सुरु गरेका थिए। जसका लागि अनिवार्य परीक्षणको व्यवस्था गरिएको थियो। सामूहिक अभ्यासमा एकअर्कासँग दुरी बनाएर नै काम गरिएको छ। अहिले देखिएका कोरोना संक्रमणका नतिजाले भने अहिले भइरहेको अभ्यासलाई अगाडि बढाउन समस्या देखिएको छ।
प्रिमियर लिग मार्च १३ देखि रोकिएको छ। अब ९२ खेल हुन बाँकी लिग जुनमा सुरु गर्ने गरी तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।