• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

१० वर्षअघि म्याद सकिएका ‘टियर ग्यास’ अझै प्रयोगमा : जनस्वास्थ्यमा गम्भीर खेलबाड

64x64
प्रजु पन्त सोमबार, जेठ १२, २०७७  ०७:०१
1140x725
२३ फागुन २०७३ मा सप्तरी मलेठमा टियर ग्यास हान्दै प्रहरी। राष्ट्रिय मानव अधिकार आयोगले ‘प्रहरीले हानेको टियर ग्यास म्याद नाघेको’ प्रतिवेदन दिएको थियो। तस्बिरः श्रवणकुमार देव

भीड नियन्त्रणका लागि सुरक्षा फौजले प्रयोग गर्ने ‘टियर ग्यास’ यसै पनि मानव स्वास्थ्यका लागि घातक हुन्छ। डरलाग्दो तथ्य नेपाल प्रहरी १० वर्ष पुराना नष्ट गर्नुपर्ने टियर ग्यास अहिले पनि प्रयोग गरिरहेको छ।
० ० ०

काठमाडौं- ३० साउन २०७६ मा चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आइपुगेको भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल ‘टियर ग्यास’ प्रयोग गरेको थियो। पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेका समर्थकहरू प्रहरी कार्यालय घेर्न पुगेका थिए। उनीहरूलाई भगाउन प्रहरीले टियर ग्यासका सेल हानेको थियो।

यस क्रममा एउटा डरलाग्दो तथ्य उजागर भयो। भरतपुरमा प्रयोग गरिएका टियर ग्यासका सेल ९ वर्षअघि नै म्याद गुज्रिएका थिए। तस्वीरबाट पनि प्रष्ट हुन्छ, ३० साउन २०७६ मा प्रयोग गरिएका टियर ग्यासका ती सेलको म्याद २०१० मार्चमै सकिएको थियो।

भरतपुर घटना नेपाल प्रहरीले म्याद गुज्रिएका टियर ग्यास प्रयोग गरिरहेको देखाउने पछिल्लो दृष्टान्त हो। उससँग यस्ता अझै कति टियर ग्यास बाँकी होलान्? सूचनाको हक प्रयोग गरेर विवरण माग गर्दा समेत चितवन प्रहरीले यस सम्बन्धी कुनै विवरण दिएन। 

‘धेरैजसो म्याद सकिएका’
भीड नियन्त्रणका लागि सुरक्षा फौजहरूले टियर ग्यास प्रयोग गर्ने चलन संसारभरि छ। तर, मानव स्वास्थ्यका हिसाबले टियर ग्यास प्रयोग गर्ने/नगर्ने भन्नेबारे संसारभरि नै बहस पनि जारी छ। जनस्वास्थ्य र मानवअधिकारको वकालत गर्नेहरू त यसको प्रयोगमा रोक लगाइनुपर्ने तर्क गर्छन्। 

जनस्वास्थ्यविज्ञ शरद वन्त भन्छन्, 'टियर ग्यासको विकल्प खोजिनुपर्छ। विकल्प के हुनसक्छ भन्नेबारे विशेषज्ञहरूबीच गहन छलफल हुनसक्छ। तर ठूलो भीड वा समूहमा झन् ठूलो क्षति पुर्‍याउनसक्ने भएकाले टियर ग्यासको विकल्प खोज्नैपर्छ।'

नेपालमा भीड नियन्त्रण गर्ने प्रमुख निकाय हो– नेपाल प्रहरी। भरतपुर घटनाले नेपाल प्रहरीले भीड नियन्त्रणका नाममा गरिरहेको टियर ग्यासको प्रयोगमा लापरबाहीको हद देखाउँछ। 

तर, सार्वजनिक जानकारीमा आएको त्यो पहिलो घटना थिएन। राष्ट्रिय मानवअधिकार आयोगले २३ फागुन २०७३ मा सप्तरीको मलेठ, विराटनगर र सुर्खेतमा भएका घटनामा बल प्रयोग गर्ने क्रममा प्रहरीले म्याद सकिएका टियर ग्यास प्रयोग गरेको प्रतिवेदन दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

'म्याद गुज्रेको टियर ग्यासका सेल प्रयोग गरेको भेटिएपछि हामीले ‘फरेन्सिक टेस्ट’ पनि गरेर सुनिश्चित गर्‍यौं' राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी भन्छिन्, 'त्यसवेला प्रकाश अर्याल आईजीपी हुनुहुन्थ्यो, हामीले प्रहरीका जुन जुन युनिटमा टियर ग्यास छ, त्यसको ‘स्टक’ बुझेर म्याद सकिएको छ भने नष्ट गर्नुस् भनेर निर्देशन दिएका थियौं।'

तर, आयोगको त्यो निर्देशनप्रति प्रहरीले कुनै वास्ता नगरेको उदाहरण थियो– भरतपुर घटना। म्याद गुज्रिएका टियर ग्यासले बेलाबखत प्रहरीलाई पनि समस्या सिर्जना गरेका उदाहरण छन्। २०६६ सालमा तत्कालीन प्रहरी उपरीक्षक (एसपी) पुष्कर कार्की जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी प्रमुखका रूपमा सरुवा भएर पोखरा गए। संविधान निर्माण प्रक्रिया चलिरहेको समय थियो। कार्की पोखरा पुगेको केही समयमै त्यहाँ आन्दोलन सुरू भयो। आन्दोलन नियन्त्रणका लागि बल प्रयोग गर्नुपर्ने अवस्था देखेपछि एसपी कार्कीले जिल्ला प्रहरी कार्यालयमा रहेको टियर ग्यासको ‘स्टक’ बुझ्न लगाए।

त्यो ‘स्टक’ को विवरण उनलाई झस्काउने खालको थियो। 'करीब २०० सेल टियर ग्यास रहेछन्, सबै डेट एक्स्पायर', भर्खरै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट सेवानिवृत्त भएका कार्कीले सुनाए, 'मैले तुरुन्तै प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेर नयाँ टियर ग्यास मगाएँ, पुरानो सेल हेड क्वाटर फिर्ता गरिदिएँ।'

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, नेपाल प्रहरीका लागि यस वर्ष (आर्थिक वर्ष २०७६/७७ मा) चार हजार सेल टियर ग्यास खरीद गर्ने योजना छ। यसअघि, २०७५/७६ मा पाँच हजार सेल खरीद गरिएको थियो। त्यसभन्दा पनि अघि २०७४/७५ मा भने प्रहरी प्रधान कार्यालयले १० हजार सेल टियर ग्यास खरीद गरेको थियो।

Xtrem

Xtrem

प्रहरीले वर्षेनि कति टियर ग्यास प्रयोग गर्छ भन्ने कुनै टुंगो हुँदैन। त्यही कारण पनि खरीद कति गर्ने भन्ने पनि टुङ्गो हुँदोरहेनछ। कहिले यो ठूलो परिमाणमा हुन्छ, कहिले भने थोरै मात्र खरीद गरिन्छ। यस्तो किन त? 

नेपाल प्रहरीका तत्कालीन (रिपोर्ट लेखनका बेला कुराकानी गर्दा) प्रवक्ता शैलेश थापा क्षेत्रीले आवश्यकताको आकलन गरेर मात्र टियर ग्यास खरीद गर्ने गरिएको बताए। 

तर, खरीदको आँकडा उपलब्ध भए पनि प्रहरी प्रधान कार्यालयसँग त्यसमध्ये कति टियर ग्यास खपत भयो र कति बच्यो भन्ने अद्यावधिक आँकडा भेटिंदैन। हामीले पटक–पटक प्रयास गर्दा पनि प्रहरी प्रधान कार्यालयले यस्तो विवरण उपलब्ध गराउन सकेन।

यसको ‘स्टक’ हेर्ने जिम्मेवारीमा रहेका एक प्रहरी अधिकृतले भने, 'प्रहरीका सयौ कार्यालयमा टियर ग्यास पठाइएको हुन्छ, तिनले कति प्रयोग गरे र कति बच्यो भन्ने विवरण तत्काल एकत्रित गर्न सहज हुँदैन। यसबाहेक तालिमका क्रममा अभ्यास गर्दा पनि टियर ग्यास प्रयोग हुन्छ। तालिम केन्द्रहरूले कति प्रयोग गरे, कति खेर गयो, कति बच्यो भन्ने विवरण सामान्यतया हेड क्वाटरसम्म आइपुग्दैन।'

टियर ग्यास प्रयोग गर्ने निश्चित समयावधि हुन्छ। त्यो अवधिमा प्रयोग नभए म्याद सिद्धिन्छ। थापा भन्छन्, 'म्याद सिद्धिएको टियर ग्यास रिफाइनरी मार्फत पुनः प्रयोग गर्ने विधि–प्रविधि नेपालमा नभएकाले त्यसलाई नष्ट गर्नु नै एकमात्र विकल्प हो।' 

तर, प्रहरीमा लामो समय काम गरेका अधिकृतहरू म्याद गुज्रिएका टियर ग्यास पनि प्रयोग हुँदै आएको हाकाहाकी सुनाउँछन्। स्टोर हेर्ने व्यक्तिले कतिपय ठाउँमा म्याद गुज्रिएकै टियर ग्यास पनि पठाइदिने गरेको उनीहरूको अनुभव छ। 

'अहिले ठ्याक्कै के छ म भन्न सक्दिनँ, तर, केही वर्ष पहिलेसम्म धेरैजसो टियर ग्यासका सेल म्याद सकिएका हुन्थे', पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भन्छन्, 'म्याद सकिएकै कारण कहिलेकाहीं भनेको बेला हान्न खोजेको सेल पड्किंदैनथे।'

घातक सिएन ग्यास
नेपाल प्रहरीले भीड नियन्त्रणका लागि सबभन्दा पहिले लाठी चार्ज गर्छ। त्यसबाट नियन्त्रण नभए टियर ग्यास प्रयोग गर्छ। टियर ग्यास प्रयोग गर्दा सामान्यतया हावाको बहाव जता छ, प्रदर्शनकारी त्यतै भएको मौका हेरेर प्रयोग गरिन्छ। कानूनतः टियर ग्यास पनि प्रभावकारी नभएमा पानीको फोहोरा हान्ने र अन्त्यमा घुँडामुनि गोली हान्ने विधि पछ्याउँछ, नेपाल प्रहरीले। 

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, नेपाल प्रहरीले ६ प्रकारका टियर ग्यास प्रयोग गर्दै आएको छ। यी प्रकार मूलतः प्रयोग गर्ने तौरतरिका र सेल हान्न प्रयोग हुने उपकरणमा आधारित छन्। जस्तो कि, ३८ एमएम, ग्यास ग्रिनेड स्मोक, सिम्पल ग्यास ग्रिनेड, ड्युअल फायर सेल, लङ्ग रेञ्ज र भेइकल इलेक्ट्रोनिक ग्यास सेल। 

टियर ग्यासमा हुने रसायन (केमिकल) को बनोटका आधारमा हेर्ने हो भने चाहिं प्रहरीले दुई प्रकारका टियर ग्यास प्रयोग गर्छ– सिएस र सिएन।

अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनको ‘नेशनल सेन्टर फर बायोकेमिस्ट्री इन्फर्मेसन’ का अनुसार, सिएस ग्यास यस्तो ‘एरोसेल’ हो जो हावाको सम्पर्कमा आउनासाथ स्वतः बाफ बन्ने गर्छ। यसलाई आमरूपमा गैरघातक हतियारका रूपमा लिइन्छ। सिएन ग्यास चाहिं अलि धेरै विषाक्त ग्यास मानिन्छ। धेरै मुलुकले सन् १९५९ पछि नै सिएन ग्यासलाई सिएस ग्यासबाट प्रतिस्थापन गर्न थालेका हुन्। 

२२ बैसाख २०७७ मा सिराहाको मिर्चैया नगरपालिका–७ को फुलबारीमा राहत वितरणका क्रममा भएको विवादमा प्रहरीले भीड तितरवितर पार्न प्रयोग गरेको म्याद मिति नदेखिने टियर ग्यासको खोका। तस्बिरः सुरेन्द्र कामती  

‘जर्नल अफ इन्भायरोमेन्टल एनालिटिकल केमिस्ट्री’का अनुसार त्यही क्रममा सन् १९९३ को ‘केमिकल विपन्स् कन्भेन्सन’ ले सिएन टियर ग्यासको प्रयोगमा रोक लगाउनुपर्ने निष्कर्ष निकालेको थियो। त्यसको एक वर्षपछि, सन् १९९४ देखि १९९७ सम्ममा अङ्गोला, इजिप्ट, उत्तरकोरिया, सोमालियाबाहेक प्रायः धेरै देशले यो कन्भेन्सनमा हस्ताक्षर गरे। 

तर, पनि यसको प्रयोग विश्वव्यापी रूपमा रोकिएको छैन। नेपाल प्रहरीले पनि अहिलेसम्म सिएन ग्यास समेत प्रयोग गरिरहेको छ। 

विश्वव्यापी रूपमै घातक मानिने सिएन ग्यास प्रयोग गरिरहेको नेपाल प्रहरीले त्यो पनि म्याद सकिएकै किन प्रयोग गर्दैछ? के टियर ग्यासको अभावले यस्तो गरिएको हो? थापा भने अभाव भएको स्वीकार्दैनन्। 'कुनै युनिटमा अभाव हुनसक्छ, तर समग्रमा यसको अभाव हुन्न' उनले भने, 'हामी वार्षिक रूपमा पनि खरीद गर्छौं, ‘निड बेसिस’ मा पनि गर्छौं। त्यसैले अभाव छैन।'

अभाव छैन भने म्याद सिद्धिएका टियर ग्यास प्रयोग गर्नुपर्ने अवस्था किन आउँछ त? पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार, यसको चुरो प्रहरीमा हुने खरीद प्रक्रियासँग जोडिन्छ। उनको बुझाइमा प्रहरीमा कहिल्यै पनि महत्व नपाउने खरीद प्रक्रिया यसको एउटा प्रमुख कारण हो। 'जस्तो कि प्रहरीमा पोशाक स्केलबारे सधैं झगडा हुन्छ, पोशाकको पूरा स्केल कहिल्यै नआउने हुँदा जति आउँछ त्यसमै म्यानेज गर्ने हो' उनी भन्छन्, 'प्रहरीमा जनशक्ति र आवश्यकता बढे अनुसार बजेट बढ्दैन, टियर ग्यासको कुरालाई पनि यसबाट पृथक् राखेर हेर्न सकिन्न।' 

समाजमा बढिरहेको आक्रामक प्रवृत्ति पनि यसमा जिम्मेवार रहेको प्रहरी अधिकृतहरू बताउँछन्। जस्तो कि, पहिले सिठी र लाठीचार्ज गरेकै आधारमा तितरवितर हुने भीड अहिले त्यसका भरमा टसमस नै गर्दैन। यसले पनि धेरै टियर ग्यास खपत हुन्छ। अनि नयाँ खरीद तत्कालै हुन नसक्ने हुँदा प्रहरीका विभिन्न युनिटले पुरानै ‘स्टक’ पनि प्रयोग गर्छन्, जुन प्रायः म्याद सकिएको हुन्छ। 

पछिल्लो समय राजनीतिक आन्दोलन र विरोध प्रदर्शन ठप्प जस्तै छन्। लामो समयदेखि प्रहरीलाई राजनीतिक आन्दोलन नियन्त्रणमा केन्द्रित हुनुपरेको छैन। यसको अर्थ तीन–चार वर्ष पहिले खरीद गरिएका टियर ग्यास प्रयोग गर्नुपरेको छैन। म्याद गुज्रिएका टियर ग्यास प्रयोग हुने यो अर्को कारण हो।

'पुरानो स्टक नसकिएसम्म नयाँ ल्याउने चलन हुन्न' एक वरिष्ठ प्रहरी अधिकृतले भने, 'अब आन्दोलन भयो भने निस्कने टियर ग्यास धेरैजसो म्याद सकिएकै हुन्। किनभने म्याद सकिएपछि प्रायः रिप्लेस गर्ने गरिएको मलाई थाहा छैन।'

थापा भने म्याद सकिएको टियर ग्यास प्रयोग नगरी ‘रीतपूर्वक नष्ट गर्ने गरिएको’ दाबी गर्छन्। के प्रहरीले म्याद सकिएको टियर ग्यास प्रयोग गरेकै छैन त? थापाले भने, 'लोकल कमाण्डर सजग भएन भने चाहिं म्याद गुज्रेका टियर ग्यास प्रयोग हुन पनि सक्छ। तर, संस्थागत रूपमा चाहिं त्यस्तो भएको छैन, हुँदैन।'

जनस्वास्थ्यमा खेलबाड
टियर ग्यास जनस्वास्थ्यका लागि कति हानिकारक छ भन्ने एउटा उदाहरण हुन् उदयपुर गाईघाटकी नजवुल खान। ५ वैशाख २०६३ का दिन उनी उदयपुरको गाईघाटमा निस्किएको एउटा जुलुसमा सहभागी थिइन्। प्रहरीले हानेको टियर ग्यास उनलाई लाग्यो। ५ घण्टापछि होसमा आउँदा उनको स्वर पहिलो जस्तो थिएन। नजवुल भन्छिन्, 'दिल्लीमा गएर पनि उपचार गरें, तर मेरो स्वर पहिला जस्तो आएन।'

टियर ग्यासको नकारात्मक असर बारे विभिन्न अध्ययनहरूका निचोड सार्वजनिक रूपमा उपलब्ध छन्। अध्ययनहरूले देखाएका छन्– ‘टियर ग्यास एक रासायनिक हतियार हो जसले आँखा र श्वास–प्रश्वासमा अवरोध गर्छ, छाला जलाउँछ र अन्धोपन पनि निम्त्याउन सक्छ।’ 

ब्रसेल्सको हिलारिस पब्लिसर्सद्वारा प्रकाशित ‘जर्नल अफ इन्भायरोमेन्टल एनालिटिकल केमेस्ट्री’ (भोल्युम–२, अंक ३, सन् २०१५) का अनुसार, विश्वव्यापी रूपमा प्रयोग हुने टियर ग्यास मानव स्वास्थ्यका हिसाबले निकै हानिकारक छन्। 

सो जर्नलका अनुसार, टियर ग्यास प्रयोग भएको १० देखि १५ मिनेटसम्म आँखा हेर्नै समस्या हुन्छ। श्वास फेर्न गाह्रो हुन्छ। कतिपयलाई वान्ता हुने, नाक, कान र घाँटीको समस्या निम्त्याउनेदेखि आँखाको ज्योति गुम्ने पनि हुनसक्छ। यसबाट शरीर बिग्रने मात्र होइन, ज्यान जान पनि सक्छ। 

२०६२/६३ को आन्दोलनका क्रममा नेपालगञ्जमा ज्यान गुमाएकी सेतु विकको मृत्यु प्रहरीले हानेको टियर ग्यासबाट भएको थियो। त्यसवेला अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको घटनाको स्थलगत अध्ययन प्रतिवेदनमा ‘२०६३ वैशाख ५ गतेको आन्दोलनमा सहभागी हुने क्रममा प्रहरीले हानेको टियर ग्यास छातीमा लागेर घाइते भएकी साविकको बागेश्वरी गाविस–३ निवासी सेतु विकलाई उपचारका लागि भारतको लखनऊ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको’ उल्लेख छ। सरकारले सेतुलाई सहिद घोषणा गरेको छ। 

त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका प्राध्यापक रामेश्वर अधिकारी टियर ग्यास एक प्रकारको रासायनिक हतियार भएकोले स्वास्थ्यका दृष्टिले खतरनाक हुने बताउँछन्। 'यसले हाम्रो आँखा, फोक्सोमा गएका नसाहरूमा आक्रमण गरेर छोटो समयका लागि निष्क्रिय गराइदिने गर्छ, शरीर कमजोर रहेछ भने मृत्यु पनि गराउन सक्छ' प्राध्यापक अधिकारीले भने, 'टियर ग्यासले शरीरमा भएका सेल, तिनका गतिविधिलाई समेत मारिदिने हुँदा यो निकै खतरनाक हुन्छ।'

३० साउन २०७६ मा चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गर्न आइपुगेको भीडलाई नियन्त्रण गर्न प्रहरीले प्रयोग गरेको टियर ग्यास। जसको म्याद गुज्रेको ९ वर्ष भइसकेको थियो। तस्बिर : वरिष्ठ अधिवक्ता सुशील पन्तको फेसबुक वाल 

मानव स्वास्थ्यका लागि घातक रसायन हुने भएकैले विश्वव्यापी रूपमै यसको प्रयोगमा रोक लगाउनुपर्ने आवाज उठ्दै आएको छ। अन्यत्र जस्तै नेपालमा पनि यसबारे आवाज उठ्न थालेको लामो समय भइसकेको छ।

टियर ग्यासको प्रयोग रोक्नुपर्ने माग सहित अधिवक्ता धनञ्जय खनालले २०६३ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २५ जेठ २०६३ मा सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै सम्बन्धित विषयविज्ञको अध्यक्षतामा स्वास्थ्य र गृह मन्त्रालय तथा प्रहरी प्रतिनिधि समेत सम्मिलित एक विशेषज्ञ टोली गठन गर्न र टियर ग्यास स्वास्थ्यको लागि कति हानिकारक छ भन्ने अध्ययन गर्न निर्देशन दिएको थियो।  

सर्वोच्चको निर्देशनात्मक आदेशमा भनिएको थियो– ‘यो ग्यासको विकल्प अरू के छ? स्थानीय प्रशासनले अन्य उपायबाट शान्तिसुरक्षा कायम गर्न खोज्दा कत्तिको प्रभावकारी हुनसक्छ? यी विषयमा अध्ययन गरी एक वर्षभित्र प्रतिवेदन दिनू र त्यसैका आधारमा आवश्यक व्यवस्था गर्नू।’

तर, सर्वोच्चको यो आदेश कार्यान्वयन भएन। 

टियर ग्यास यसै पनि मानव स्वास्थ्यका लागि जोखिमपूर्ण छ। त्यसमाथि म्याद सिद्धिएको टियर ग्यास झन् कति घातक होला? टियर ग्यासमा निहित रसायनको ‘कम्पोजिसन’ के हुन्छ भन्ने कुरा यसमा महत्वपूर्ण हुन्छ। मानव स्वास्थ्यलाई जोगाउन बनाइएको औषधि त मिति गुज्रिएपछि घातक हुन्छ भने टियर ग्यास झन् के होला? प्राध्यापक अधिकारी भन्छन्, 'सामान्य सिद्धान्त अनुसार कुनै पनि रसायन लामो समय राख्दा त्यो अर्कै चीज बन्न जान्छ।' 

यो कत्तिको घातक हुन्छ त? 'प्लाष्टिक वा रबरभित्र राखिने हुँदा त्यहाँभित्र त्यो ‘रियाक्टिभ’ भएको हुन्न, अर्को कुनै पदार्थको संसर्गमा आएपछि नै ‘रियाक्टिभ’ हुने हो' प्राध्यापक अधिकारीले भने, 'हानिकारक विष भएकाले त्यसको विषालु गुण यथावत् हुन्छ। म्याद सकिएपछि यो अर्कै विष बन्छ कि बन्दैन भन्नेबारे त प्रष्ट छैन, तर टियर ग्यासको प्रभावकारिता भने धेरै राखेपछि स्वतः घट्छ।'

प्रभावकारिता घट्नु नै यसको सबभन्दा घातक पक्ष हो। किनभने यसको प्रमुख उद्देश्य नै घातक हतियारको प्रयोग हुन नदिनु हो। गैरघातक (नन लिथल) हतियारका रूपमा लिइने टियर ग्यास प्रयोग गर्नुको उद्देश्य भनेकै जम्मा भएको भीडलाई तितरवितर पार्ने हो। 

'म्याद सकिएको टियर ग्यास पर्‍यो भने, भनेको वेला पड्कन्न, पड्किए पनि प्रभावकारी हुन्न, त्यसो हुँदा प्रहरीले घातक हतियार र धेरै बल प्रयोग गर्नुपर्ने हुन्छ' पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, 'अनि न्यूनतम बल प्रयोग गर्नुपर्ने सिद्धान्त विपरीत अधिक बल प्रयोग गर्नुपर्ने हुन्छ, त्यसले ठूलो दुर्घटना र क्षति पनि निम्त्याउँछ।'

घरी–घरी त आवाजै निस्किँदैन : नजबुल खान, टियर ग्यास पीडित
'मेरो नाम नजवुल खान, घर उदयपुर हो। मुस्लिम अधिकारको निम्ति २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा म पनि सहभागी भएकी थिएँ। ५ वैशाख २०६३ का दिन उदयपुरको गाईघाटमा जुलुस निस्किएको थियो। त्यो जुलुसमा प्रहरीले हानेको टियर ग्यास मलाई लाग्यो। म पाँच घण्टा बेहोस भएँ। 

टियरग्यास पीडित नजबुल खान

होशमा आउँदा मेरो भोकल (स्वर) मा समस्या थियो। गाईघाटमा उपचार गरियो, भएन। त्यसपछि काठमाडौंमा उपचार गरियो। त्यहाँ पनि नभएपछि भारतको नयाँदिल्लीमा गएर पनि उपचार गरें। तर, मेरो पहिलेको जस्तो स्वर आएन।

टियर ग्यास जब घाँटीमा पुग्यो श्वास रोकियो। मलाई श्वास फेर्न गाह्रो भयो, आखाँबाट आँसु आयो। म बेहोश भएर ढलिछु। पछि साथीहरूले घटनाबारे बताएपछि आवाज त गयो, धन्न बाँच्न चाहिं बाँचिछु भन्ने लाग्यो। 

त्यो टियर ग्यासले मेरो स्वास्थ्यमा गम्भीर असर पारेको छ। पहिले भाषण गर्न माइक चाहिंदैनथ्यो, अहिले स्वर सारै नै सानो छ। सानो आवाज आउँछ। घरीघरी त आवाजै निस्किंदैन। त्यतिवेला साहै्र दुःख लाग्छ।'

(पन्तले यो सामग्री खोज पत्रकारिता केन्द्रका लागि तयार गरेकी हुन्।)

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०७:०१
  • #TearGas
  • #टियर_ग्यास

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २२, २०८३
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्