काठमाडौं- स्पेनिस लिग फुटबल ला लिगा आउँदो जुन ८ बाट बन्द रंगशालामा सुरु गर्न सकिने भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस्तो अनुमति दिएसँगै कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको लिग खेलेरै सकिने देखिएको हो।
जुन ८ मा नै सुरु गर्ने अनुमति पाए पनि ला लिगाका प्रमुख जेभियर टेबासले भने जुन १२ बाट खेल गर्नेबारे काम भइरहेको बताएका छन् तर लिग सुरु गरिने यकिन मिति भने अहिलेसम्म आएको छैन। अहिले खेलाडीहरुको सामूहिक अभ्यास भने चलिरहेको छ।
‘हामीले जे गर्नुपर्ने हो त्यो गर्यौँ अब नयाँ ढंगले अघि बढ्नुपर्छ। अब दैनिक क्रियाकलापमा फर्किएर सहज रुपमा अघि बढ्ने बेला आयो’ सान्चेजले भनेका छन्, ‘जुन ८ बाट ला लिगा सुरु गर्न सकिनेछ, यसलाई पछ्याउनेहरु धेरै छन् तर अहिले सामान्य अवस्थामा ल्याउनुपर्ने विषय लिगमात्र होइन।’
ला लिगामा सेभिया र रियल बेटिसबीचको खेलबाट रोकिएको लिग सुरु गर्नेबारे पनि कुराकानी भइरहेको छ। ला लिगासँगै स्पेनको दोस्रो डिभिजनको लिग पनि सुरु हुनेछ।
ला लिगामा अहिले बार्सिलोना २७ खेलमा ५८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको रियल मड्रिडको २७ खेलमा ५६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।