काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को जाँचका लागि स्वाब दिएका महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरीमध्ये दुई जनामा कोरोना पोजेटिभ देखियो।
स्वास्थ्य मन्त्रालयले गर्ने नियमित ‘प्रेस मिटिङ’ काठमाडौं उपत्यकामा ३ जना कोराना संक्रमित ३ जना थप भएको बताइएको थियो। तीमध्ये दुई जना कालिमाटीका प्रहरी थिए।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव निरीक्षक (सई) र जवानमाा कोरोना पोजेटिभ देखिएको थियो।
मन्त्रालयबाट उक्त जानकारी आएपछि कालिमाटी वृत्तका प्रहरी सतर्क भएसँगसँगै एक किसिमको डरसमेत पैदा भएको थियो। ‘हामी ब्यारेकमा सँगै बस्छौं। एकअर्कालाई टच पनि भइहाल्छ। सँगैका सहकर्मीलाई कोरोना पोजेटिभ देखियो भनेपछि अलिअलि डर त भैहाल्छ नि’, वृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर भन्छन्, ‘त्यहाँमाथि अघिल्लो रात सँगै खाना खाएका थियौं।’
ब्यारेकमा सँगै बस्ने, सँगै खाने, ड्युटी समेत सँगै हुने भएकाले सुरक्षाकर्मी एक जनामा कोरोना पोजेटिभ देखिने बित्तिकै त्यसको असर ठूलो रुपमा पर्न जान्छ।
कोरोना पोजेटिभ देखिएपछि कालिमाटी वृत्त, महिला सेल, महानगरीय ट्राफिक प्रभागसम्मलाई सिल गर्नु परेको थियो। त्यतिमात्र होइन, वृत्त मातहतका सम्बन्धित युनिटका प्रहरीसँग कोरोना पोजेटिभ देखिएका प्रहरी अत्यावश्यक कामले भेटघाट भइरहने भएकाले ती प्रहरी इकाइ समेत सिल गरियो। त्योसँगै प्रहरीले भाडामा बस्ने घर समेत सिल गर्नु परेको थियो।
‘झट्टा हेर्दा दुई जना प्रहरीमा त कोरोना लागेको हो नि भनेजस्तो देखिन्छ। तर यसको असर ठूुलो छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘दुई जनामा कोरोना देखियो भनेका कार्यालयका अन्य प्रहरी समेत परिचालन गर्नसक्ने अवस्था तत्काल छैन।’
दुई जना प्रहरीमा कोरोना देखिएपछि वृत्त र मातहतका गरेर २ सयभन्दा बढी प्रहरी कर्मचारी अहिले सिल छन्। उनीहरुको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।
यतिमात्रै होइन, सुरक्षाकर्मीमा कोरोना देखिएपछि यसको त्रास ब्यारेकदेखि अदालतसम्म पुगेको छ। बाराका एक प्रहरीमा कोराना देखिएको थियो। ती प्रहरी भने मुद्दा शाखामा कार्यरत थिए। सर्वधारणको सम्पर्कदेखि सरकारी वकिल र अदालतसम्मै उनको सम्पर्क हुने भएपछि अदालतसम्म त्रास फैलिनु स्वभाविक नै हो।
बाराका ती प्रहरी जवान म्याद थपका लागि एक अभियुक्त लिएर अदालसम्म पुगेको पाइएपछि जिल्ला अदालत बारासमेत त्रास फैलिएको थियो।
आरोपितसहित आएका प्रहरीलाई कोरोना परीक्षण गराएर पेस गर्नू भनी फर्काइएको थियो। अघिल्लो हप्ताको बुधबार न्यायाधीशद्वय रोशन गजुरेल र खिलनाथ रेग्मीको इजलासमा उनीहरुको मुद्दा पेस हुँदै थियो। विभिन्न आरोपमा पक्राउ परेका केही अभियुक्त लिएर ती प्रहरी जिल्ला अदालतको मुद्दा फाँटमा पुगेका थिए। फाँटमा आरोपितहरुको मात्र कोरोना परीक्षणको रिपोर्ट पेस गरेपछि फाँटका कर्मचारीले प्रहरीको पनि परीक्षण गरेर पेस गर्न भन्दै फर्काएका थिए।
‘सधैं मुद्दा ल्याउने प्रहरी भएकाले सहज रुपमा उनलाई सबैको परीक्षण गरेर ल्याउन भनेका थियौँ,’ अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले नेपाल लाइभसँग भने, ‘तर उनमा पोजेटिभ भएको पाइएको छ। सुरुमा र्यापिड टेस्ट गरिएको थियो। पछि पिसिआरमा पनि पोजेटिभ पाइएपछि अदालतमा त्रास फैलिएको हो।’
कहाँ कति सुरक्षाकर्मी कोरोना संक्रमित?
कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको फ्रन्टलाइनमा खटिएका १३ सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमित ४४४ जनामध्ये १३ जना सुरक्षाकर्मी रहेका छन्।
जसमा महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौंका एक सई र एक जवान, कपिलवस्तुमा कार्यरत एक सई र एक हवल्दार, बारामा एक जवान र धनकुटामा एक गरी ६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तीमध्ये कालिमाटीका दुई जनाको सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको सम्बन्धित जिल्लामै उपचार भइरहेको डिआइजी शाहीले नेपाल लाइभलाई जानकारी दिए।
सशस्त्र प्रहरी बलका ४ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले बताएका छन्।
जसमध्ये पूर्वगृहमन्त्री समेत रहेका नेकपा नेता भीम रावलका सुरक्षागार्ड एक जवान, कपिलवस्तुमा कार्यरत सशस्त्रका सई, सुनसरीमा कार्यरत जवान र सशस्त्र प्रहरी अस्पताल बलम्बुमै कार्यरत एक हवल्दार गरी ४ जनामा कोरोना भाइरस देखिएको छ।
त्यस्तै नेपाल आर्मीको मध्यपृतना महोत्तरीमा कार्यरत सेनाका एक उच्च अधिकारी र एक जवानमा कोरोना पोजेटिभ देखिएको छ। कोरोना पोजेटिभ देखिएका जवान स्वाब संकलनमा संलग्न थिए। उनीहरु दुवै जनाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ।
सूचना संकलनको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुमा कार्यरत विभागका सईमा कोरोना संक्रमण देखिएको हो। यसरी चारै सुरक्षा निकायका गरी अहिलेसम्म १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रहरी परिचालनको संख्या घटाइँदै
सुरक्षा निकायमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रहरी परिचालनको संख्या घटाउने समेत तयारी भएको छ। ‘नियमित सुरक्षाका लागि चाहिने प्रहरी त खटाउनै पर्यो। त्यसबाहेक आवश्यकता अनुसार सम्बन्धित कार्यालयले घटाएर परिचालन गर्न सक्छन्,’ प्रवक्ता शाहीले भने।
यता उपत्यका समेत लकडाउन कार्यान्वयन गराउन परिचालित हुने प्रहरीको संख्या कम गराउने तयारी भएको छ। महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले प्रहरी परिचालनको संख्या घटाउन लागिएको बताए।
उनका अनुसार पछिल्लो समय उपत्यका लकडाउन स्वतःफुर्त रुपमा कार्यान्वयन हुन थालेपछि प्रहरी परिचालनको संख्या घटाउन लागिएको हो।
अहिले दैनिक उपत्काका तीन जिल्लामा गरेर ६ हजार प्रहरी परिचालन हुँदै आएका छन्।
स्रोतका अनसार कोरोनाको संक्रमण बढ्दै जानु र सुरक्षाकर्मी नै जोखिममा बढ्न थालेपछि प्रहरी परिचालनको संख्या कम गर्न लागिएको हो।
उच्च सतर्कता अपनाउन हेडक्वाटरको निर्देशन
प्रहरी प्रधान कार्यालयले बुधबार ७७ वटै जिल्ला प्रहरी प्रहरी कार्यालयलाई उच्च सर्तकता अपनाएर सुरक्षित तवरले काम गर्न भन्दै निर्देशन समेत दिएको छ।
कोरोना भाइरस संक्रमण देखिएपछि सबै सुरक्षा निकायले उच्च सर्तकता अपनाउन थालेका छन्। बिदाबाट फर्केकाहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्नेदेखि फिल्डमा खटिँदा उच्च सर्तकता अपनाएर काम गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए।
बिदाबाट फर्केका सुरक्षाकर्मीको कोरोना जाँच गरेर मात्रै ब्यारेक प्रवेश गराइएको छ। पूर्वगृहमन्त्री भीम रावलका पिएसओ सशस्त्रका जवान बिदाबाट फर्केपछि जाँच गराउँदा कोरोना देखिएको थियो। बिदाबाट फर्केकाले जाँच गराइहालेकाले अन्य सुरक्षाकर्मीमा कोरोना संक्रमण फैलन पाएको थिएन।
कोरोनाको संक्रमणबाट बच्नका लागि प्रहरी प्रधान कार्यालयले आन्तरिक तयारी तीव्र बनाएको र मातहतका सबै इकाइलाई सतर्कता अपनाउन निर्देशन पनि दिइसकेको छ। यसअघि नै प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरुले दिने गरेको डे र नाइट‚ घन्टे आउटजस्ता बिदा समेत अहिले कटौती गरिएको छ।
कोरोनाको अर्को उच्च जोखिममा ट्राफिक प्रहरी पनि छन्। उनीहरुलाई सकेसम्म पिपिई लगाएर मात्रै फिल्डमा खटाउन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।