काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब वाटफोर्डका एक खेलाडी र दुई पदाधिकारीका साथै ब्रन्लीका सहायक प्रशिक्षक इयान वानमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। यस्तै नाम उल्लेख नगरे पनि अर्को एक क्लबका दुई जनामा पनि संक्रमण देखिएका खबर छन्।
जसले क्लबहरु सामूहिक रुपमा अभ्यासमा राजी भएर अभ्यास सुरु गरे पनि छिटै मैदान फर्कन समस्या देखिएको छ। सामूहिक अभ्यासमा राजी भएसँगै कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको लिग खेलेरै सकाउने योजना एक कदम अघि बढिसकेको थियो। जसमा क्लबले नयाँ सुरक्षा नीति पालन गरेको नगरेको हेर्न भने कडा शैली अपनाइँदैछ। त्यसैका लागि अभ्यासमा जानुअघि हरेकको परीक्षण गरिएको थियो।
क्लबहरुले मंगलबारदेखि सानो समूहमा सानो मैदानमा सामूहिक अभ्यास सुरु गरेका हुन्। जहाँ खेलाडीहरुलाई जिपिएसमार्फत ट्रयाक गर्ने, नियमित तर पूर्वजानकारीबिना परीक्षण गर्ने, भिडियो विश्लेषणमार्फत अभ्यासको शैली अपनाउने गरी प्रिमियर लिग अघि बढिरहेको छ।
‘विस्तारै हामी खेल सुरु गर्नेतिर बढिरहेका छौँ, त्यसैले अभ्यासका बेला कुनै गल्ती नहोस् भन्ने चाहन्छौँ। त्यसका लागि हामीले बनाएका नियमहरुको पूर्ण पालना गर्नु आवश्यक छ, अभ्यासका समय खेलाडीमाथि विशेष निगरानी हुनेछ’ लिग फुटबल निर्देशक रिचार्ड गार्लिकलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।
शीर्ष डिभिजनका सबै क्लबहरुको बैठकबाट नै क्लबहरुले आवश्यक सुरक्षाका सबै उपाय अपनाउन सहमत भएका थिए। अभ्यासका दौराना एकै ठाउँमा पाँच जनाभन्दा बढी नरहने र अभ्यासको समय पनि ७५ मिनेटभन्दा लामो नगर्ने सहमति भएको थियो। तर क्लबका डाक्टरहरु भने अभ्यासका दौरान आफूहरु कुन रुपमा अघि बढ्ने हो भन्नेमा अझै दुविधामा देखिन्छन्।
प्रिमियर लिग जुन १२ मा सुरु गर्ने गरी योजना बनिरहेको छ। त्यसका लागि अहिले अभ्यासमा जानुअघि नै क्लबका सबैको कोरोना भाइरस परीक्षण भइरहेको छ। जसमा केहीमा संक्रमण देखिएकाले लिग सुरु हुने मितिमा अन्योल बढेको छ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले नै मे २५ भित्रमा लिगको मिति तोक्न भनेकाले पनि अहिले नै सबै तयारी पूरा गरिसक्नुपर्ने बाध्यता लिगहरुलाई छ। जसमा बेलायत सरकारले जुन १ मा खेलकुद गराउनेसम्बन्धमा थप निर्णय पनि गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।