काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नक्सा छाप्ने विषय पार्टीको भएको र सरकारले त्यसलाई अनुमोदन गरेको बताएका छन्। उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने स्मरण गराएका छन्।
‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ’, बुधबार गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ।‘
उनले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको उनले स्मरण गराएका छन्। ‘यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछ’, विज्ञप्तिमार्फत गौतमले भनेका छन्।
उनले ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले देशको नयाँ नक्सा सार्वजनिक गरेको भन्दै समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी रहेको बताएका छन्।
गौतमले वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि नक्सा छाप्ने काम भने स्वागतयोग्य भएको बताएका छन्। सिमाना व्यवस्थापनसँग सम्बन्धित ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।