पेरिस- रुवान्डा नरसंहारका आरोपी फेलिसियन काबुगा २६ वर्षपछि पक्राउ परेका छन्। उनी फ्रान्स पक्राउ परेको बेलायती समाचार संस्था बिबिसीले जानकारी दिएको छ। बिबिसीका अनुसार उनी पक्राउ परेको फ्रान्सेली न्याय मन्त्रालयले पुष्टि गरेको छ।
रुवान्डाको नरसंहारमा ८ लाखभन्दा धेरै मानिसको हत्या भएको थियो। सो नरसंहारका लागि सैनिकहरुलाई आर्थिक सहयोग गरेको अभियोग लागेका काबुगालाई शनिबार पेरिस नजिकैबाट पक्राउ गरिएको मन्त्रालयले जनाएको छ।
काबुगा रुवान्डाको सर्वाधिक खोजीमा रहेका व्यक्ति हुन्। अमेरिकाले उनको टाउकोको मोल ५० लाख अमेरिकी डलर तोकिएको थियो। ८४ वर्षीय काबुगा झुटो पहिचानसहित लुकेर बसेका थिए।
सन् १९९७ मा काबुगामाथि नरसंहार गरेको तथा नरसंहार गराउन उक्साउने काम गरेको लगायतका सात आपराधिक अभियोग छ।
यी अभियोग सन् १९९४ मा रुवाण्डामा भएको नरसंहारसँग सम्बन्धित छन्। रुवान्डा को दुई मुख्य जातीय समूहः हुट्स र टुट्सी बिच १९९० मा गृहयुद्ध सुरु भएको थियो।
काबुगा हुटस समूहका व्यापारी थिए। उनलाई सन् १९९४ मा टुट्सीहरुको हत्या गराउन आर्थिक सहयोग गरेको आरोप लागेको थियो। फेलिसियन काबुगा जर्मनी, बेल्जियम, कङ्गो, केन्या वा स्विजरल्यान्डमा लुकेर बस्दै आएका थिए।
आफ्नो अपराधका लागि उनी यी देशमा कानुनी उन्मुक्तिको सुविधा लिएर बस्दै आएका थिए। उनीसँगै अगस्टिन बिजिमाना र प्रोटाइज एमपिरान्या अन्तर्राष्ट्रिय न्याय अन्र्तगत खोजी सूचिमा रहेका छन्। उनीहरुमाथि पनि रुवान्डाको नरसंहारको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।