पोखरा- प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरलादेखि सुस्ता जोड्ने सडक प्रदेश सरकारको पहिलो गौरवको योजना हुने बताएका छन्।
प्रेस चौतारी नेपाल प्रदेश नं. ४ कमिटीद्वारा आज आयोजित सम्मान कार्यक्रममा उनले प्रदेशको समृद्धिका लागि अन्य विभिन्न १४ गौरवका योजना अघि सारिने तयारी भइरहेको जानकारी दिए।
आगामी बैसाख ३ गते प्रदेशको नीति तथा कार्यक्रम र लगत्तै बजेट ल्याउने तयारीमा सरकार रहेको बताउँदै उनले सडक विकास, अन्तराष्ट्रियस्तरको सभाहल, रङ्गशाला, प्राविधिक विश्वविद्यालय लगायत विभिन्न क्षेत्रलाई उक्त योजनामा समेटिने बताए।
पोखरा–लेखनाथ महानगरपालिका र आसपासका गाउँपालिकालाई जोडेर चक्रपथ निर्माण गर्न अपरिहार्य रहेको बताउँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि स्थानीय तहसँग सहकार्य गरिने बताए।
प्रदेशका ११ वटै जिल्लाका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्न आवश्यक भएको बताउँदै उहाँले प्रदेशको समग्र विकासको माध्यमबाट रोजगारीको सिर्जना गरी गरिबी न्यूनीकरणमा सञ्चारमाध्यमसँगको सहकार्यमा अघि बढ्ने उल्लेख गरे।
युवा तथा खेलकुुद मन्त्री जगत विश्वकर्माले नेपालको प्रतिष्ठासँग जोडिएको १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) का लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा गरिने उल्लेख गरे।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विश्वकर्मा, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा तथा मुख्यमन्त्री गुरुङ, भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल र सामाजिक विकास मन्त्री नरदेवी पुन, नेकपा (एमाले) संसदीय दलका प्रदेश नं. ४ का प्रमुख सचेतक मायानाथ अधिकारीलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।