काठमाडौं- नीति तथा कार्यक्रममा सरकारले महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी, अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाएको उल्लेख गरेको छ।
सरकारको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास र अभिरुचि बढेको नीति तथा कार्यक्रममा उल्लेख छ।
‘सरकारले अवलम्बन गरेका स्पष्ट र परिपक्व नीतिहरूबाट छिमेकीहरूसँग विश्वास, समझदारी र सहयोगमा अभिवृद्धि भई सम्बन्धले नयाँ उचाइ लिएको छ’ राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रममा भनिएको छ‚ ‘अन्य मित्रराष्ट्र एवं विकास साझेदारहरूसँगको समग्र सम्बन्ध थप सुदृढ भएको छ।’
चीनका राष्ट्रपतिबाट २३ वर्षपछि र भारतका प्रधानमन्त्रीबाट एउटै कार्यकालमा ४ पटक भएको नेपाल भ्रमणलाई सरकारले उल्लेख्य उपलब्धीमूलक ठानेको उल्लेख गरिएको छ। उक्त भ्रमणले छिमेकी मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध अझ मजबुत बनेको नीति तथा कार्यक्रममा उल्लेख छ।
राष्ट्रपतिले गरेको चीन, जापान र म्यानमारको भ्रमण तथा नेपालका प्रधानमन्त्रीबाट भएको मित्रराष्ट्र भारत, चीन, भियतनाम, कम्बोडिया, बेलायत, फ्रान्स र कोस्टारिकाको भ्रमणले नेपालको वैदेशिक सम्बन्धलाई अझ सुदृढ बनाएको नीति तथा कार्यक्रममा उल्लेख छ।
‘यी भ्रमणहरूका अवसरमा नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्ने, विकास र समृद्धिलाई सघाउ पुर्याउने र पारस्परिक लाभमा आधारित सहयोगका क्षेत्रहरू विस्तार गर्ने महत्वपूर्ण सन्धि सम्झौताहरू सम्पन्न भएका छन्’ कार्यक्रममा भनिएको छ‚ ‘नेपालको परराष्ट्र नीति राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित हुनेछ।’
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण, सीमाको सुरक्षा र नेपालीको हकहितको संरक्षण एवं प्रवर्द्धन गर्दै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।