काठमाडौँ- कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका महिला सुरक्षाकर्मीहरूलाई घुन्सा फाउन्डेसन नेपालले अत्यावश्यकीय स्वास्थ्य सामग्री वितरण गरेको छ।
फाउन्डेसन अध्यक्ष याङ्जोङ् शेर्पाले ट्राफिक प्रहरी निरीक्षक मनिषा बुढाथोकीलाई शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय बग्गीखाना पुगी उपत्यकाभित्र लकडाउन पालना गराउन खटिरहेका महिला ट्राफिक महिलालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्।
ट्राफिक महिला प्रहरीलाई सुरक्षा र हौसला प्रदान गर्न स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष शेर्पाले बताइन्। ‘म आफू पनि महिला भएको नाताले महिला ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्न र उहाँहरुको सुरक्षा पनि होस भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री वितरण गरेर सानो प्रयास गरेको हो,' अध्यक्ष शेर्पाले भनिन्, ‘हामी मातृ जनस्वास्थ्यका क्षेत्रमा काम आइरहेको भएर पनि हामीले यस्तो महसुस गरेको हो।’ दुर्गम क्षेत्र ताप्लेजुङको घुन्सामा जनस्वास्थ्यको क्षेत्रमा केन्द्रीत भएर यस संस्थाले विगतदेखि काम गर्दै आएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले दुर्गममा रहेको संस्थाले ट्राफिक प्रहरीलाई सम्झिएर गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए। उपत्यकामा १ सय ६० भन्दा बढी महिला ट्राफिक प्रहरी खटिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।