काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा स्नातकोत्तर सकेका युवाहरुलाई साथमा लिएर विकास निर्माण अभियान सुरु गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश’ अभियान सञ्चालन गर्ने जानकारी गराइन्। त्रिभुवन विश्वविद्यालयको संरचनात्मक परिवर्तन गरी स्तर वृद्धि गर्ने जनाइएको छ। विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने नीति सरकारको छ।
विश्वविद्यालयका अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउने नीति बनाएको सरकारले मदन भण्डारी विश्वविद्यालयलाई अनुसन्धानको केन्द्र बनाउने भएको छ। अनुसन्धानात्मक शिक्षाका लागि मदन भण्डारी विश्वविद्यालयलाई आवश्यक पूर्वाधारको निर्माण तीव्र गरिने नीति तथा कार्यक्रमम उल्लेख छ।
विकास निर्माणका लागि आवश्यक जनशक्तिका निर्माण गर्न प्रावधिक शिक्षामा जोड दिने सरकारी नीति छ। कृषि तथा वन पर्यावरण, विज्ञान तथा प्रविधि, चिकित्साआयुर्वेदका कक्षा सञ्चालन गरिने भएको छ। प्रावधिक दक्ष जनशक्ति तयार गर्न पर्यटन, इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्स, सुरुङ प्रविधि, रक इन्जिनिरियङ, खनिज अन्वेषण, जल विद्युत्, नवकरणीय ऊर्जालगायतमा उच्च शिक्षाको व्यवस्था गर्ने सरकारले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई साक्षर नेपाल घोषणा गर्ने भएको छ।
विद्यालयलाई पुर्वाधार सम्पन्न बनाइने
विद्यालय तहको पाठ्यक्रम नेपालको संस्कृति नागरिकको कर्तव्यबोध समावेश गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। यसैगरी प्रारम्भिक बालविकास कार्यक्रम सञ्चालन गरिने‚ विद्युतीय शिक्षा अनलाइन शिक्षाको व्यवस्था‚ उच्च गतिको इन्टरनेट अनलाइन कक्षा र राष्ट्रिय शिक्षा नीतिको समयानुकुल परिर्वतन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।