मन्थली- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले रामेछाप लिखु तामाकोसी गाउँपालिकाका–४ स्थित अरुणोदय मावि प्रांगणमा रहेको सालिक तोडफोड गरेको छ।
द्वन्द्वकालमा मारिएका भुवन श्रेष्ठ र उज्जन श्रेष्ठको सम्झानामा उनीहरुका दिदी सावित्री श्रेष्ठले विद्यालय हाताभित्र सालिक निर्माण गरेकी हुन्। उनले हालै मात्र विद्यालयको १२ कोठे पक्की भवन पनि निर्माण गरिदिएकी थिइन्।
माओवादी केन्द्र, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र विद्यालयको अनुमतिपछि भवन र शालिक निर्माण गरेको भए पनि बुधबार राति सालिक तोडफोड गरिएको श्रेष्ठले बताइन्। तोडिएको सालिक नजिकै बालकृष्ण ढुंगेललाई रिहाइ गर्न माग गरिएको पर्चा फेला परेको छ। माओवादी नेता ढुंगेल हाल जेलमा छन्।
घटनाको बारेमा प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको र तोडफोडमा संलग्नहरुको खोजी भइरहेको जानकारी पाएको उनले बताइन्।
सालिक तोडफोडप्रति द्वद्वपीडित साझा चौतारी र गणेश-उज्जन स्मृति प्रतिष्ठानले आपत्ति प्रकट गरेका छन्। निजी लगानीमा निर्माण भएको सालिक कुनै राजनीतिक गतिविधिको नाममा तोडफोड गर्नु आपराधिक क्रिया भएको भन्दै उनीहरुले दोषीलाई तत्काल काराबाहीको माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।