काठमाडौं- सरकारले स्वास्थ्य पूर्वाधार, शिक्षा, व्यावसायिक कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार विकास र रोजगारी सिर्जनालाई केन्द्रमा राखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको जानकारीअनुसार राष्ट्रिय गौरवका आयोजना तथा रूपान्तरणकारी आयोजना निर्माणमा पनि प्राथमिकता दिइएको छ। आन्तरिक पर्यटनको विकास, गरिबी न्यूनीकरणमा पनि नीति तथा कार्यक्रममार्फत जोड दिइएको छ।
'यसपटक नयाँ कार्यक्रम समावेश गरिएको छैन, स्वास्थ्य पूर्वाधार विकास, आर्थिक-सामाजिक रूपान्तरण, रोजगारी सिर्जना र कृषि क्रान्ति नै यसपटकको नीति तथा कार्यक्रमका मुख्य विषय हुन्,' प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। यसैगरी गरिबी निवारण, स्वरोजगारको विकास, जलविद्युतको विकास तथा सामाजिक असमानताको अन्त्यलाई पनि प्राथमिकतामा राखिएको छ।
संघीय संसदमा पेश भइसकेको बजेटको सिद्धान्त तथा प्राथमिकतामा समावेश भएका विषयलाई केन्द्रमा राखेर नै सरकारले नीति तथा कार्यक्रम तयार गरेको छ। यसमा आन्तरिक स्रोतको परिचालन चुनौतिपूर्ण हुने र बाह्य स्रोतमा भर पर्नुपर्ने उल्लेख गरिएको थियो।
संसद सचिवालयका अनुसार दिउँसो ४ बजे राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। यसका लागि दिउँसो पौने ४ बजे अगावै सांसदहरुलाई तोकिएको पोशाकमा आफ्नो सिटमा बसिसक्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।