काठमाडौं- चालु आर्थिक वर्ष २०७६/७७ को १० महिना अवधिमा ४९ दशमलव ६१ प्रतिशत बजेट खर्च भएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बैसाख मसान्तसम्ममा ७ खर्ब ६० अर्ब ४७ करोड ९५ लाख रुपैयाँ बराबर बजेट खर्च भएको देखिन्छ। यहि अवधिमा राजश्व संकलन वार्षिक लक्ष्यको ५६ दशमलव ५३ प्रतिशत अर्थात ६ खर्ब ६१ अर्ब ४४ करोड ४८ लाख रुपैयाँ बराबर संकलन भएको छ।
वैसाख मसान्तसम्ममा चालुगततर्फ कुल विनियोजित बजेटको ५९ दशमलव ७९ प्रतिशत अर्थात ५ खर्ब ६८ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै पुँजीगततर्फ विनियोजन भएको कुल बजेटको २७ दशमलव ९७ प्रतिशत अर्थात १ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ विनियोजन भएको कुल बजेटको ४४ दशमलव २३ प्रतिशत अर्थात ७४ अर्ब २३ करोड ६५ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ।
पछिल्लो २ महिना अवधिमामात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ। गत फागुन मसान्त सम्ममा बजेट खर्च ६ खर्ब १० अर्ब ८ करोड ५९ लाख अर्थात कुल विनियोजित बजेटको ३९ दशमलव ८० प्रतिशत बराबर थियो। त्यस्तै चैत महिनामा बजेट खर्च ६४ अर्ब रुपैयाँ बराबरले बढेर ६ खर्ब ७४ अर्ब ६९ लाख ५३ हजार अर्थात कुल विनियोजित बजेटको ४४ दशमलव ०१ प्रतिशत पुगेको थियो। गत बैसाख महिनामा मात्र ८५ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।