राजविराज– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वपश्चिम रेल सञ्चालनका लागि सरकारले स्टिमेट तयार गरिरहेको बताएका छन्। विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेकाले अब अत्यावश्यक काम अघि बढाइने उनले बताए।
छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको दर्शन गर्न शुक्रबार सप्तरी आएका मन्त्री महासेठले सन् २०१८ भित्रै पूर्वपश्चिम रेल सञ्चालन गर्न सरकारले काम गरिरहेको स्पष्ट पारे। रेल सञ्चालनलाई कतिपयले अनौठो रुपमा लिएको बताउँदै उनले अहिले पनि रेलमार्ग निर्माणको काम चलिरहेको विश्वास दिलाए।
पूर्वपश्चिम ९ सय ४५ किलोमिटरको रेलमार्ग निर्माणको कुरा सन् २००८ बाट नै सुरु भए पनि काम पूरा हुन नसकिरहेको अवस्थामा मन्त्री महासेठले दाबी गरे, 'पूर्वपश्चिम मात्र होइन, यो सरकारले चीनको नाका भएर लुम्बिनीसम्म रेल पुर्याउने सोच अनुसार काम गरिरहेको छ।’
केरुङ–काठमाडौं–पोखरा–मुग्लिन–लुम्बिनी रेल सञ्चालनका लागि सरकारले अध्ययन गरिरहेको उनले जानकारी दिए। ‘मुलुकका विकासका लागि पर्यटन प्रवर्द्धन महत्वपूर्ण पाटो हो,’महासेठले भने, ‘लुम्बिनीसम्म रेल पुर्याएर जति सकिन्छ धेरै बौद्ध धर्मावलम्वीहरुलाई नेपाल भित्र्याउने र मुलुकको विकास गर्ने हाम्रो लक्ष्य छ।’
मन्त्री महासेठले वर्षौंको प्रतिक्षापछि नेपाली जनताको अपेक्षा अनुसारको संविधान र सोही संविधान अनुसार तीन चरणको निर्वाचन र तीन तहका ७५३ सरकार बनिसकेकाले मुलुकमा विकासबाहेक अर्को एजेन्डा नै बाँकी नरहेको जिकिर गरे।
‘अब मुलुकमा एउटै मात्र एजेन्डा छ, त्यो हो विकास’ उनले भने, ‘यस बाहेकका अन्य कुनै पनि एजेन्डाको अर्थ छैन।’
उनले सबै एकजुट भएर बढ्नुपर्ने समय आएको भन्दै थपे, 'प्रतिपक्षमा बसेर हल्ला गरिरहनु पर्छ भन्ने पनि जरुरी छैन। सबैको भलाइको काम हो, सबै एकजुट भएर अघि बढौं, मुलुकको समृद्धिमा सहयोग गरौं।’
मन्त्री महासेठले हुलाकी राजमार्ग निर्माणका विषयमा राजविराजवासीको चासो र मागलाई यथोचित सम्बोधन गरिने आश्वासन दिए। मन्त्री महासेठले आन्दोलनरत पक्षलाई आश्वासन दिँदै भने, ‘बजार क्षेत्रभन्दा बाहिरबाट राजमार्ग निर्माण गर्ने विषयमा मैले योजना प्रमुखलाई स्टिमेट पेस गर्न निर्देशन दिएको छु, बजार ध्वस्त गर्ने हाम्रो पनि सोच छैन।’ हुलाकी राजमार्ग निर्माणका क्रममा राजविराजका अधिकांश औद्योगिक प्रतिष्ठान ध्वस्त हुने, राजविराजको ऐतिहासिकता समाप्त हुने र हजारौं परिवार विस्थापित हुने भन्दै हुलाकी राजमार्गलाई बाइपास गरेर निकाल्न पटकपटक आन्दोनल हुँदै आएको छ।
उनले कुनौली–राजविराज–रुपनी ६ लेनको सडक निर्माण हुने पनि बताए। हुलाकी सडक, कुनौली–रुपनी सडक, छिन्नमस्ता मन्दिरसम्म भारतीय रेल ल्याउन मार्ग विस्तार, राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना लगाएका विकासे मुद्दालाई समेटेर सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले बुझाएको ज्ञापनपत्र अध्ययनपछि एक महिनाभित्र अधिकांश समस्या सम्बोधन हुने मन्त्री महासेठले प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।