मलेसियास्थित जोहोरमा लगाइएको पाम खेती। नेपाल लगायतका देशले पामको कच्चा पदार्थ आयात गरी विभिन्न देशमा निर्यात गर्दै आएका छन्। तस्बिर : रोयटर्स
काठमाडौं- तेस्रो मुलुकबाट कच्चा पाम आयल ल्याएर प्रशोधन गरी प्रशोधित पाम आयल भारत निर्यात गर्ने नेपाल र बंगलादेशका ३९ वटा कम्पनीको इजाजत रद्द गरिएको छ।
निलम्बनले भारतको पाम तेल आयातलाई केही महिनामा कम गर्न सक्ने भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ।
‘नेपाल र बंगलादेश दक्षिण एसियाली खुला व्यापार सम्झौता (साफ्टा) को हस्ताक्षरकर्ता मुलुक रहेका भएका कारण शून्य भन्सार शुल्कमा पाम आयल भारत निर्यात गर्दै आएको, तर साफ्टामै भएको ‘रुट अफ ओरिजिन’ (आरओओ) देखाउनुपर्ने अर्को व्यवस्था पालना नभएको’ भन्दै भारतले त्यहाँ प्रशोधित पाम आयल निर्यात गर्ने कम्पनीको इजाजत रद्द गरेको हो। भारतले पाम आयल आयात गर्दा वस्तु तथा सेवा शुल्क कर (जिएसटी) बाहेक अरु कुनै पनि कर लगाउने गरेको थिएन।
पाम आयल नेपाल र बंगलादेशको आफ्नो उत्पादन नरहेपनि भारतले आयात गर्दा ‘ड्युटी फ्री’ मार्फत खरिद गरिरहेको र हरेक वर्ष यसको व्यापार बढिरहेको जनाएको छ। भारतले गत जनवरी ८ मा भारतले प्रशोधित पाम आयलको आयातमा रोक लगाएको थियो। तर पछि भारतको केन्द्र सरकारले प्रशोधित पामोलिन आयात खुलाउने र आयातकर्ता कम्पनीलाई लाईसेन्स जारीसमेत निर्णय गरेको थियो। भारतको उक्त निर्णयपछि नयाँ इजाजतपत्र लिन निवेदन लिएका २३ वटा निर्यातकर्ताले पनि अब इजाजत पाउने छैनन्।
नेपालबाट भारतमा निर्यात भएको पाम आयल गत आर्थिक वर्षमा ३१४ प्रतिशतले बढेर १ लाख ७९ हजार टन पुगेको भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ। त्यस्तै, बंगलादेशबाट भारतमा निर्यात भएको पाम आयल गत आर्थिक वर्षमा ५ सय प्रतिशतले बढेको छ।
नेपालले निर्यात गर्ने वस्तुको सुचीमा प्रशोधित पाम आयल रहेको छ भने नेपालले इन्डोनेसिया र मलेसियाबाट कच्चा पाम आयल आयात गर्दै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।