काठमाडौं- पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन्।
वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा रहेका विदेशी खेलाडीलाई खाद्यान्न सहयोग गरेका हुन्। नेपालमा बसेर विभिन्न क्लबबाट सहिद स्मारक ए डिभिजन लिगलगायत विभिन्न प्रतियोगिता खेल्दै आएका १० जना विदेशी खेलाडीलाई थापाले खाद्यान्न सहयोग गरेका हुन्।
उनले चामल, दाल, नुन, तेल, बिस्कुटसँगै विभिन्न तरकारी सहयोग गरेका थिए। थापाले नेपालमा बसेर फुटबल खेलिरहेका अन्य विदेशी खेलाडीलाई पनि रुपमा सहयोग गरिरहने जानकारी दिए।
कोरोना भाइरसको सन्त्रास र लकडाउनका कारण समस्यामा परेका खेलाडीलाई सहयोग गरेकोमा विदेशी खेलाडी एरिक बोल्वेले थापालाई धन्यवाद दिएका थिए।
नेपाली फुटबलमा लामो समय बिताएका थापाले लकडाउन सुरु भएसँगै विभिन्न स्थानमा राहत वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।